काठमाडौँ

सरकारी कर्मचारीहरू विदेश भ्रमणमा जान भने हुरुक्क हुने प्रवृत्तिमा कमी आएको छैन । "/>

दुई महिनामा ८२४ कर्मचारी वैदेशिक भ्रमणमा

दुई महिनामा ८२४ कर्मचारी वैदेशिक भ्रमणमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारी कर्मचारीहरू विदेश भ्रमणमा जान भने हुरुक्क हुने प्रवृत्तिमा कमी आएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पछिल्लोपटक गरेको अध्ययनले साउन र भदौमा मात्रै ८२४ जना कर्मचारी विदेश गएको देखाएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार ती कर्मचारीले विदेशमा बिताएको समयलाई मात्रै गणना गर्दा १७ सय ३ दिन हुन आउँछ । कर्मचारीले ६० दिनमा १७ सय ३ दिन बराबरको समय विदेशमै बिताएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

कार्यालयले कडाइ गर्दा गर्दै पनि विभिन्न बहाना बनाएर कर्मचारी विदेश जान छाडेका छैनन् । प्रधानमन्त्री कार्यालय उनीहरूको अनावश्यक विदेश भ्रमण रोक्न असफल देखिएको छ । सरकारी कर्मचारीको विदेश भ्रमणको रोजाइमा युरोप, अमेरिका र अस्ट्रेलिया परेको छ । ती कर्मचारीले सार्क बाहेकका एसियन देशमा पनि अत्याधिक भ्रमण गरेका छन् । सामान्य कार्यक्रममा पनि उच्च पदस्थहरू विदेश भ्रमणमा जाँदा सरकारी काम र नीति निर्माण तहमा नै गम्भीर समस्या सिर्जना भइरहेको प्रशासनका जानकारहरूको भनाइ छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले कर्मचारीहरू विदेश भ्रमणमा जाने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक रहेको बताए । ‘विदेश जान भने पछि हुरुक्कै गर्ने चरित्र कर्मचारीले अब त्याग्नै पर्छ,’ प्रवक्ता कुँवरले भने । प्रवक्ता कुँवरले कर्मचारीको विदेश भ्रमणको औचित्यबारे अब गम्भीर छानबिन हुने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको विदेश भ्रमणमा कडाइ गर्न कार्यालयलाई पटक–पटक निर्देशन दिँदै आएका छन् तर उनको निर्देशन अनुसार कर्मचारीहरूको विदेश भ्रमणमा उल्लेख्य कमी आउन सकेको छैन । विदेश गएकाहरू नियमविपरीत दातृ निकायको खर्चमा समेत जाने गरेका छन् । हाल सरकारले दातृ निकायको खर्चमा विदेश जान प्रतिबन्ध लगाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार यस अवधिमा सबैभन्दा बढी विदेश गएर धेरै समय बिताउनेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरू पहिलो नम्बरमा छन् । सो मन्त्रालयका ९१ कर्मचारीले २४८ दिन बराबरको समय विदेशमै बिताएका छन् । यस्तै दोस्रो नम्बरमा रहेको वन तथा वातावरण मन्त्रालयका ७७ कर्मचारीले २१९ दिन बराबरको समय विदेशमै बिताएका छन् । अर्थ मन्त्रालयका ४४ जना कर्मचारीले १९८, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका २६ कर्मचारीले १४९ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ४८ कर्मचारीले ८० दिन बराबरको समय विदेशमै बिताएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
राजधानीबाट

Logo