भक्तपुर

नगरकोट जाने पर्यटकलाई दोहोरो पर्यटक शुल्क लिएको विरोधमा विहिबार नगरकोटका होटल व्यवसायी, पर्यटन व्यवसायी, होटल मजदुरले चाँगुनारायण नगरपालिका घेराउ गरी ज्ञापनपत्र बुझाएका छन् । "/>

दोहोरो पर्यटन शुल्कको विरोधमा नगरकोटका होटल व्यवसायीद्वारा नगरपालिका घेराउ

दोहोरो पर्यटन शुल्कको विरोधमा नगरकोटका होटल व्यवसायीद्वारा नगरपालिका घेराउ

केन्द्रबिन्दु
0
Shares

भक्तपुर

नगरकोट जाने पर्यटकलाई दोहोरो पर्यटक शुल्क लिएको विरोधमा विहिबार नगरकोटका होटल व्यवसायी, पर्यटन व्यवसायी, होटल मजदुरले चाँगुनारायण नगरपालिका घेराउ गरी ज्ञापनपत्र बुझाएका छन् ।

नगरकोट घुम्न आउने पर्यटकसँग चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डनदेउपुर नगरपालिकाले २०० मिटरको फरकमा दोहोरो पर्यटन शुल्क लिएपछि व्यवसायीले त्यसको विरोधमा ज्ञापनपत्र बुझाएका हुन् ।

यसअघि पनि विभिन्न आन्दोलनको कार्यक्रम गर्दै आएको नगरकोट नाल्दुम पर्यटन व्यवसायी सङ्घले हिजो चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलाई नगरपालिकामा पुगेर ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउँदै सङ्घका अध्यक्ष इन्द्र लामाले एकै ठाउँमा आउँने पर्यटकसँग शुरुमा चाँगुनारायण नगरपालिकाले र मण्डनदेउपुर नगरपालिकाले शुल्क उठाएपछि नगरकोटमा पर्यटन व्यवसाय सङ्कटमा परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सडकमा बसेर पर्यटकसँग शुल्क उठाउने काम बन्द गर्नुस्, नगरपालिकाले शुल्क उठाउने ठाउँ धेरै छन्, त्यसमा हामी व्यवसायी सहयोग गर्छौं, एउटा पर्यटकले एक ठाउँ आउँदा दोहोरो पर्यटन शुल्क तिर्दा नगरकोटको पर्यटन धरापमा परेको छ ।”

सङ्घका सचिव धनबहादुर लामाले नगरकोट आउँने पर्यटक ५० प्रतिशत भन्दा बढी घटेको बताउँदै आएका पर्यटकले पनि दुई ठाउँमा कर तिर्नुपर्दा उल्टै गाली गर्ने र अब नगरकोट नआउने भन्दै फर्कने गरेको बताउनुभयो ।

ज्ञापनपत्र बुझाउँदै सङ्घका प्रवक्ता गोकुल शर्माले दोहोरो पर्यटन शुल्क लिँदा सरकारले मनाउने पर्यटन वर्ष २०२० लाई प्रत्यक्षरुपमा असर पार्ने बताउँदै नगरकोट आउन होटल बुक गरेका पर्यटकले धमाधम बुकिङ रद्द गरेको बताउनुभयो । आक्रोसित व्यवसायीले नगरपालिकामा धर्ना दिएर जनप्रतिनिधि माथि आक्रोस व्यक्त गरेका थिए ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख मिश्रले तिहारपछि बस्ने नगरपालिकाको बोर्ड बैठकमा ज्ञापनपत्र र व्यवसायीको मागबारे छलफल गर्ने बताउनुभयो ।

चाँगुनारायण नगरपालिकाले गत आर्थिक वर्षमा ५१ लाख प्रवेश शुल्क उठाउन ठेक्का दिएको थियो भने आव २०७५/०७६ का लागि तीन करोडमा (कर बाहेक) ठेक्का दिएको छ । त्यसैगरी काभ्रेको मण्डन देउपुर नगरपालिकाले गत असोज २९ गतेदेखि छुट्टै पर्यटन शुल्क उठाउन थालेको छ ।

चाँगुनारायण नगरपालिकाको वडा नं ६ तेलकोट, वडा नं ८ को कलमसी र चाँगुनारायण मन्दिर अगाडि न्यू दक्षिणकाली निर्माण सेवाले पर्यटकसँग शुल्क उठाउँदै आएको छ भने चाँगुनारायणले सार्क राष्ट्रका पर्यटसँग २०० र सार्क बाहिरकालाई ३०० प्रवेश शुल्क लिँदै आएको छ ।

यता मण्डनदेउपुर नगरपालिकाले नगरकोट आउँने पर्यटक मध्ये मन्जरी निर्माण सेवाले सार्क राष्ट्रका पर्यटनसँग २२६ र सार्क बाहिरका पर्यटकसँग ३३९ पर्यटन शुल्क लिँदै आएको छ ।
रासस

Logo