काठमाडौं

लामो समयको विवादपछि सङ्घीय संसद्को भवन सिंहदरबारस्थित पुतली बगैँचामा नै बन्ने निश्चित भएको छ । "/>

सिंहदरबारमै बन्ने भयो संसद् भवन : ३ वर्ष भित्र सकिने

सिंहदरबारमै बन्ने भयो संसद् भवन : ३ वर्ष भित्र सकिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

लामो समयको विवादपछि सङ्घीय संसद्को भवन सिंहदरबारस्थित पुतली बगैँचामा नै बन्ने निश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको समेत निर्देशनमा सहरी विकास मन्त्रालयले पुतली बगैंचामा नै भवन निर्माण गर्नेगरी भवनको डिजाइन निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

मन्त्रालयले चालु आर्थिक वर्षभित्र बोलपत्र प्रक्रिया समेत अगाडि बढ्ने जनाएको छ । आफ्नो भवन नहुँदा अहिले सङ्घीय संसद्ले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर बैठक चलाइरहेको छ । तीन वर्षसम्म भवन निर्माण सक्ने लक्ष्य राखिएको छ ।
पुतली बगैँचाको सट्टा सेनालाई गृह मन्त्रालय पछाडि रहेको खाली जग्गा शोधभर्ना गर्नेगरी भवन निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । त्यसका लागि सहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा संसद् तथा सेनाका समेत प्रतिनिधि रहेको समिति गठन गरिएको छ । भवन निर्माणको प्रक्रिया अगाडि बढाउन चालु वर्षको बजेटमा ४४ करोड रुपियाँ विनियोजन गरिएको छ ।

सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले भवन कहाँ बनाउने भन्ने अन्योल टुङ्गिएको बताउनुभयो । राईले भन्नुभयो, ‘भवन कहाँ बनाउने भन्ने अन्योल टुङ्गिएको छ । कहाँ बनाउने भनेर जग्गा खोजी भइरहेको थियो अब पुतली बगैँचामा नै बन्ने निश्चित भएको छ । छोटो समयमा निर्माण सक्नुपर्ने भएकाले कुन ‘मोडालिटी’बाट ठेक्का दिने भन्नेमा परामर्शमा छौँ । चालु वर्ष भित्र भवन निर्माणको बोलपत्र प्रक्रिया पूरा हुन्छ ।’

हालसम्मको तयारी अनुसार पुतली बगैँचामा ‘अन्डरग्राउन्ड’सहित पहिलो र दोस्रो तला पार्किङका लागि प्रयोग गर्नेगरी भवन निर्माणको तयारी छ । भवनमा सिंहदरबार परिसर बाहेकबाट पनि प्रवेश गर्न मिल्ने व्यवस्था गरिँदैछ । भवनको कुल लागत भने मन्त्रालयले यकिन गरिसकेको छैन ।

वि.सं. ०५५ साल देखि नै पुतली बगैँचामा संसद् भवन बनाउने भनिए पनि सेनाले जग्गा छाड्न तयार नभएपछि लामो समय अन्योल कायमै थियो । संसद् र सेनाबीच जग्गाबारे पटक पटक औपचारिक पत्राचार भए पनि निष्कर्ष निस्किएको थिएन । पछिल्लो समय गृह मन्त्रालय पछाडिको जग्गा लिएर संसद्लाई जग्गा छाड्न भने सेना सकारात्मक थियो ।
गोरखापत्रबाट

Logo