काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैंको अवसरमा टीका लगाइदिँदै गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । "/>

सामाजिक सञ्जालमा किन भाइरल बन्यो राष्ट्रपतिको यो तस्विर ?

सामाजिक सञ्जालमा किन भाइरल बन्यो राष्ट्रपतिको यो तस्विर ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैंको अवसरमा टीका लगाइदिँदै गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सो तस्बिरमा सोफामा बसेकी राष्ट्रपति भण्डारीले आफ्नो अगाडि घुँडा टेकेर बसेका पूर्वप्रधानन्यायाधीश पराजुलीलाई टीका लगाइदिँदै गरेको देखिन्छ ।

नेपालमा राजतन्त्र रहँदासम्म यस्ता घटना सामान्य नै मानिन्थे । तर राजतन्त्र नेपालको हितमा नरहेको निष्कर्षसहित त्यसलाई फालेर ल्याइएका गणतन्त्रमा समेत राष्ट्रप्रमुख ( राष्ट्रपति भण्डारी ) बाट राजसी प्रवृत्ति देखाइएको भन्दै उनको आलोचना भइरहेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सूर्य थापाले राष्ट्रपतिले पूर्वप्रधानन्यायाधीश पराजुलीलाई दसैंको टीका लगाइदिँदै गरेको तस्बिर आफ्नै फेसबुक वालमा राख्दै यो प्रवृत्ति संघीय लोकतान्त्रिक गणतन्त्र अनुरुप एवं गणतान्त्रिक चेतना, संस्कार र संस्कृतिमुताबिक नभएको टिप्णी गरेका छन् । उनले लेखेका छन्, ‘संयोगवशः उहाँ हुनुहुँदोरहेछ पदमुक्त पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली । उहाँले नै महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोस्रोपटक राष्ट्रपति चयन भएपछि पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो ।’ पूर्वप्रधानन्यायाधीश पराजुलीले नै दोस्रो कार्यकालका लागि राष्ट्रपति भण्डारीलाई पद तथा गोपनीयताको सपथ गराएका थिए ।

थापाले अगाडि लेखेका छन्, ‘चर्चित मानवअधिकारकर्मी सुशील प्याकुरेल राष्ट्रपतिज्यूका सल्लाहकार हुनुहुन्छ भने आधुनिक कानुनमा विद्यावारिधि उपाधियुक्त डा. भेषराज अधिकारी स्वकीय सचिव । अनि जनताकी छोरी विद्या भण्डारी दोस्रो कार्यकाल राष्ट्रपति । नागरिकलाई यो आसनमा बडादसैंंको टीका ? संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरुप एवं गणतान्त्रिक चेतना, संस्कार र संस्कृतिमुताबिक भएन ।’

थापाले प्रश्न गरेका छन्– आजीवन हसिया हथौडा अंकित झन्डामुनि क्रियाशील, नेपाली महिला सशक्तीकरण आन्दोलनकी प्रेरणादायी नेत्री, जननेता मदन भण्डारीकी जीवनसंगिनी र कम्युनिस्ट पार्टीबाट निर्वाचित राष्ट्रपतिलाई यसरी विवादमा तान्ने परम्पराको अभ्यास गराउने को हो ? उनले नागरिक हैसियतको यसरी हुर्मत लिने गरी राष्ट्रप्रमुखलाई विवादित बनाउने रबैया मान्य हुन नसक्ने उल्लेख गरेका छन् । उनले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सबै तहका जनप्रतिनिधिले आफू जनताको निगरानीमा रहेको हेक्का राख्नुपर्ने पनि फेसबुक वालमा लेखेका छन् ।

राष्ट्रपतिका मुख्य स्वकीय सचिव भेषराज अधिकारीले भने आफूले यसबारेमा बुझेर मात्र बोल्न सक्ने बताए । ‘म अहिले बाहिर छु, यो विषयमा मलाई जानकारी छैन, पछि बुझेर मात्र बताउन सक्छु,’ उनले भने । सामाजिक सञ्जालमा उक्त तस्बिर भाइरल भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले राष्ट्रपतिको आलोचना गरिरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले राष्ट्रपतिलाई नयाँ राजाको संख्या दिँदै गणतन्त्रप्रति खिल्ली उडाएको आरोप लगाएका छन् ।

नेपालमा गणतन्त्र स्थापना भएको एकदशक मात्र पुगेको अवस्थामा राजनीतिक नेतृत्वमा देखिएको शासकीय प्रवृत्तिले जनतामा चरम निराशा छाइरहेको छ । राष्ट्रप्रमुखको सवारी तथा पछिल्लोपटक दसैंको टीकामा देखिएको तस्बिरले पनि राष्ट्रप्रमुख र सरकार प्रमुख माथि लाग्दै आएको शासकीय प्रवृत्तिको आरोपलाई केही हदसम्म पुष्टि गर्छ ।
नागरिकबाट

Logo