काठमाडौँ
सरकारले उखु उत्पादक किसानले पाउनु पर्ने रकम ५ दिन भित्र भुक्तानी गर्न उद्योगी–व्यवसायीलाई निर्देशन दिएको छ । चार्डवार्ड आइसक्दा समेत चिनी मिलले भुक्तानी नदिएको गुनासो आएपछि सरकारले तत्काल भुक्तानी गर्न मिललाई निर्देशन दिएको हो ।
अर्थमन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्री, उद्योग तथा आपूर्ति मन्त्री, वन तथा वातावरण, सामान्य प्रशासन मन्त्री र विभिन्न मन्त्रालयका सचिवहरुको सोमबार सिंहदरबारमा भएको बैठकबाट यस्तो निर्णय भएको कृषिमन्त्री चक्रपाणि खनाल बलदेवले जानकारी दिए । उनले भने, ‘पाँच दिन भित्र भुक्तानी नदिने उद्योगीहरुलाई कारबाही गर्ने चेतावनी सरकारले दिएको छ ।’
चिनी मिलले भुक्तानी नदिएपछि आइतबार पत्रकार सम्मेलन गरी नेपाल उखु उत्पादक किसान संघ, नेपाल उखु उत्पादक महासंघ, किसान हकहित समिति लगायतले संयुक्त रुपमा सडक आन्दोलन गर्ने चेतावनी दिएपछि सरकार तात्तिएको हो ।
उद्योगले किसानलाई अपुरो पैसा भुक्तानी गरेको र सरकारले अनुदानको रकम भुक्तानीमा आनाकानी गरिरहेको उनीहरुको आरोप थियो । कृषि मन्त्रालयको सिफारिसमा गत ५ वैशाखमा बसेको मन्त्रिपरिषदको बैठकले उखु किसानलाई उद्योगले ४ सय ७१ रुपैयाँ २८ पैसा र सरकारले अनुदान बापत ६५ रुपैयाँ २८ पैसा गरी प्रति क्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा दिने निर्णय भएको थियो ।
निर्णय भएको ६ महिनासम्म पनि आफूहरुले भुक्तानी नपाएको भन्दै आन्दोलनको बाटो तताउनु परेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए । हालसम्म उद्योगीले २ अर्ब र नेपाल सरकारले अनुदान बापतको १ अर्ब २८ करोड रकम उखु किसानलाई भुक्तानी गर्नु पर्ने महासंघको दाबी छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया