मकवानपुर
तीन नम्बर प्रदेश सभा बैठकमा राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले प्रतिवेदन पेश गरेको छ । सोमबार बसेको बैठकमा समितिका सभापति दिपक निरौलाले सभामुख सानुकुमार श्रेष्ठलाई प्रतिवेदन पेश गरेका हुन् ।
सभापति निरौलाले सर्वसम्मत रुपमा ल्याइएको प्रतिवेदनमा जिल्लागत रुपमा विवेचना र विश्लेषण गरिएको दाबी गरे । दीर्घकालिन रुपमा प्रभाव पार्ने गरी पाँच जिल्लालाई सिफारिस गरिएको बताउँदै उनले स्थायी राजधानीले प्रदेशको विकास र जनताको सेवालाई ध्यान दिनुपर्नेमा जोड दिए ।
समितिले वर्णानुक्रम अनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई उपयुक्तता आधारमा स्थायी राजधानीका लागि सिफारिस गरेको छ । प्रदेशसभाबाट गठित प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले असार २६ गते सभामुख सानुकुमार श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो । तर प्रदेशसभाको बैठकमा छलफलमा नल्याइएको भन्दै सांसदहरुले आक्रोश पोख्दै आएका थिए ।
अधिवक्ता धुव्रप्रसाद चौंलागाईले उच्च अदालत ईजालस हेटौंडामा असार २८ गते मुद्धा दायर गरेपछि राजधानीबारे थप अन्यौल छाएको थियो । उनले ३ नम्बर प्रदेश सरकार, मुख्यमन्त्री डोरमणि पौडेल, प्रमुख बिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ लगायतलाई विपक्षी बनाएका थिए । नेपालको संविधानको धारा १ सय ९१ अनुसार प्रदेश सभामा प्रदेश राजधानीबारे बहसमा समेत कानूनी रुपमा बन्देज लागेको थियो ।
प्रदेशको स्थायी राजधानी काभ्रे वा भक्तपुर मध्ये एक स्थानमा तोक्न सांसदहरुले लविङ्ग थालेका छन् । राजधानी सार्न वा तोक्न दुई तिहाई मत आवश्यक पर्ने भएकाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) कै सांसदहरु लागेका छन् ।
नागरिकबाट





























प्रतिक्रिया