काठमाडौँ
बर्दियामा पराजित भएका नेकपाका नेता वामदेव गौतमका लागि काठमाडौँ क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले छाड्ने भएका छन् । डोल्पा र बाँकेबाट निर्वाचित सांसदहरुलाई राजीनामा गराउन असफल भएका वामदेवले रामवीरलाई राजीनामा दिन लगाएर काठमाडौँ क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने भएका हुन् ।
वामदेवका लागि काठमाडौँ क्षेत्र नम्बर ७ बाट राजीनामा दिन तयार भएको सांसद रामवीर मानन्धरको पत्र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार बसेको सचिवालय बैठकमा प्रस्तुत गरेको जानकारी नेकपा उच्च स्रोतले दिएको छ ।
नेकपामा नेताबीच बढेको कलह मिलाउन र पार्टी एकतालाई तलसम्म पुर्याउनका लागि बसेको सचिवालय बैठकमा प्रचण्डले वामदेवका लागि रामवीरले छाड्न तयार भएको पत्र प्रस्तुत गरेका थिए ।
नेकपा उच्च स्रोतका अनुसार राष्ट्रिय सभामा मनोनित गर्ने आश्वासन दिएर नेताहरुले रामवीरलाई मनाउन सफल भएका हुन् । बालाजुस्थित अष्टनारायण चलचित्र मन्दिरका मालिकसमेत रहेका रामवीर मानन्धर तत्कालीन महिला बालबालिका तथा समाज कल्याण मन्त्री तथा राप्रपा नेता विक्रमबहादुर थापालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
मानन्धरले १८१०२ मत पाएका थिए भने विक्रमबहादुर थापाले १००७९ मत पाएका थिए । उनले ८०२३ मतको अन्तरले लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार, राप्रपाका नेता तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापालाई पराजित गरेका थिए ।
मानन्धरले यस अघि २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा तत्कालिन माओवादीकी नेत्री हिसिला यमीलाई पराजित गरेका थिए । रामवीर मानन्धर पार्टीमा स्वाभिमानी, निडर, प्रष्टबक्ता र राम्रो सम्भावना बोकेको नेताका रूपमा परिचित छन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया