काठमाडौं
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई कसैले कमजोर पार्न नसक्ने दाबी गरेका छन् । शनिबार नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित चियापान कार्यक्रममा प्रचण्डले भने, ‘हामीले नेपालमा एउटै कम्युनिस्ट केन्द्र र वामपन्थीहरुको दुईतिहाइको सरकार बनाएका छौं । विश्व राजनीतिमै यो असाधारण परिघटना हो । हामीले यो सरकारलाई बलियो बनाएर जानुपर्छ । नेकपा र सरकार कमजोर हुन्छ कि भन्ने कसैले नसोचे हुन्छ ।’
प्रचण्डले पार्टी भित्रका सबै विवाद समाधान हुने भन्दै भने, ‘हाम्रोबीच कुनै ठूलो विवाद छैन । केही दिनमा प्रदेश र जिल्ला तहका कमिटीको एकता टुंगाएर जान्छौं, जनवर्गीय संगठनको एकता टुंगाउँछौँ । सरकार र पार्टीको एक मात्र गन्तव्य समृद्धि हो, यसमा हामी सफल हुन्छौं ।’
प्रचण्डले पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने बताए । उनले भने, ‘विश्वमै यति ठूलो सन्देश दिएका छौं । अब हाम्रो जिम्मेवारी पार्टीभित्र गुटबन्दी अन्त्य गर्नु हो । जनताका अपेक्षा अनुसार पार्टीलाई एकीकृत गर्नु हो । के हामीले गुटबन्दी नभएको पार्टी बनाउन सक्छौं ? हामीले सक्नैपर्छ ।’
‘म फर्के लगत्तै प्रधानमन्त्रीसँग छलफल सुरु भएको छ, निर्वाचनमा जनताले जसरी विश्वास गरे, त्यो विश्वासलाई हामीले सम्मान गर्नुपर्छ’ प्रचण्डले भने, ‘सरकारको समीक्षा सुरु भएको छ । केही समस्या पनि देखिएका छन् । तर सरकार कमजोर बनाएर समस्या समाधान हुँदैन । शक्तिशाली बनाएर जानुपर्छ ।’
‘अहिले सरकार पहिलो गेयरमा छ । पहिलो गियरमा हुँदा गाडीले स्पिड लिन सक्दैन । तर अब हामी गेयर बढाउँछौं’ प्रचण्डले भने, ‘समृद्धिको हाम्रो प्रष्ट लक्ष्य छ, हाम्रो चुनौती त्यसलाई व्यवहारमा ढाल्ने हो । त्यसका लागि हामी सबैले मेहेनत गरौं । जनताले हामीलाई विश्वास गरे, अब जनतालाई विश्वास गरेर काम गरौं ।’
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया