काठमाडौं
महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राई सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ परेका छन् । रार्इलार्इ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले एक लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै शनिबार साँझ ८ बजे पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव तथा प्रवक्ता रामेश्वर दङ्गालले डीएसपी रार्इ पक्राउ परेको पुष्टि गरे । आयोगका प्रवक्ता दङ्गालले डीएसपी रार्इ पक्राउ परेको जानकारी दिँदै भने, एक व्यवसायीबाट घुस लिँदालिँदै आयोगको टोलीले उनलाई पक्राउ गरेको हो, यसबारे थप अनुसन्धान भइरहेको छ ।
रार्इलार्इ अख्तियारले हिरासतमा लिएर अनुसन्धान अघि बढाएको छ । शुक्रबार राति मात्रै उनकै एरियामा पर्ने मुलपानीस्थित जुवाडेको एक अखडामा महानगरीय प्रहरी परिसरको टोलीले छापा हानेको थियो । त्यसक्रममा हामफालेर भाग्न खोज्दा दुर्इ जनाले ज्यान गुमाए । प्रहरीले छापा मार्दा भागदौड गर्ने क्रममा दुई जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले जानकारी दिएका थिए ।
कागेश्वरी मनोहरा नगरपालिका मुलपानीस्थित तेण्डु शेर्पाको घरमा संगठित रुपमा जुवा खेलाउने गरेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपी होविन्द्र बोगटीको नेतृत्वमा प्रहरीको टोली छापा मार्न गएको थियो ।
अन्नपूर्णबाट































प्रतिक्रिया