काठमाडौँ

आन्तरिक एकीकरणको प्रक्रियामा रहेको नेपाल कम्युनिस्ट पार्टीमा पूर्व एमाले खेमाभित्र आरोपप्रत्यारोप चुलिएको छ । "/>

नेकपाको दोस्रो तहका नेता पनि आरोप-प्रत्यारोप र घोचपेचको मैदानमा

नेकपाको दोस्रो तहका नेता पनि आरोप-प्रत्यारोप र घोचपेचको मैदानमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

आन्तरिक एकीकरणको प्रक्रियामा रहेको नेपाल कम्युनिस्ट पार्टीमा पूर्व एमाले खेमाभित्र आरोपप्रत्यारोप चुलिएको छ । पार्टीको आन्तरिक एकता प्रक्रियामा असन्तुष्ट नेता माधव नेपालले संसद बैठकमा आफ्नै पार्टीले नेतृत्व गरेको सरकारको आलोचना गरेपछि सुरु भएको घोचपेच राजनीतिमा दोस्रो तहका नेता समेत जोडिन पुगेका छन् ।

संसद बैठकमा नेता नेपालले सरकारको काम सन्तोषजनक नभएको टिप्पणी गर्दै देश डुब्न लागेको बताएका थिए । त्यसको जवाफमा संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले भने, म केही दिनका लागि संयुक्त राष्ट्रसंघतिर आएँ, केही नेताले लौ न देश डुब्न लाग्यो, कोही त आऊ बचाऊ भनेको सुनियो । म फर्केर गइहाल्छु, त्यो समस्याको कुरा होइन ।’

घोचपेचको यही शृंखलामा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल पनि जोडिए । उनले नेता नेपाललाई लक्षित गर्दै ट्विट गरे, ‘मानिसको पतन त्यस समय सुरु हुन्छ, जब आफ्नैलाई ढाल्न पराईसँग सल्लाह लिन सुरु गरिन्छ ।’ रिमालको ट्विट संसदमा नेता नेपालले सरकारको कामलाई लिएर गरेको आलोचनातर्फ लक्षित थियो । नेता नेपालले सरकारको कामका बारेमा गरेको आलोचनालाई प्रतिपक्षीले समेत समर्थन जनाएका थिए ।

रिमाल प्रधानमन्त्रीको भ्रमण टोलीमा ओलीसँग साथै छन् । रिमालको १२ असोजको ट्विटको जबाफमा नेता नेपाल निकट स्थायी समिति सदस्य योगेश भट्टराईले १३ असोजमा ट्विट गरे, ‘सत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन् । कठै दोषी चस्मा ’

नेकपाभित्र शीर्ष तहका नेताबीच घोचपेच चलिरहँदा पछिल्लो पुस्ताले त्यसलाई पछ्याउन नहुने विचार राख्ने नेताहरु पनि छन् । ओली निकटका केन्द्रीय सदस्य राजन भट्टराई नेतृत्व तहमा हुने यस्ता असन्तुष्टि छलफलपछि माथिल्लो तहमै टुंगिने भएकाले यस्ता विषयलाई पछिल्लो पुस्ताले पछ्याउन नहुने बताउँछन् । ‘जुन पुस्तालाई हामी सुध्रिनुपर्छ भनिरहेका छौं, त्यही पुस्ताले गरेका नकारात्मक अभ्यासलाई हामीले पछ्याउनु हुँदैन’, उनले भने ।

नेतृत्व तहमा भएको घोचपेचलाई लिएर दोस्रो पुस्ता पनि आरोपप्रत्यारोपमा उत्रिएबाट पहिलो र दोस्रो पुस्ताबीच भिन्नता नै नदेखिएको उनको भनाइ छ । ‘पहिलो पुस्ताले गरिरहेका गलत अभ्यासलाई हामीले पनि पछ्यायौं भने के भिन्नता भयो र’, उनले थपे । भट्टराईले पार्टी भित्र बेलाबेलामा यस्ता असन्तुष्टि देखा पर्ने बताए । पार्टीभित्रका असन्तुष्टि पार्टीकै आधिकारिक बैठक वा फोरममा मात्र राख्नुपर्ने नियम भए पनि लोकतान्त्रिक अभ्यास अन्तर्गत कहिलेकाहीं बाहिर पनि आउने गरेको उनको भनाइ छ ।
नागरिकबाट

Skip This
Skip This
Logo