काठमाडौँ
डोल्पाका निर्वाचित सांसदलाई राजीनामा दिन लगाएर उपनिर्वाचन मार्फत संसदमा आउने नेकपाका नेता वामदेव गौतमको योजनामा तुषारापात भएको छ । पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाका सांसद धनबहादुर बुढाले राजीनामा दिन अस्वीकार गरेका छन् ।
सांसद बुढा सुरुमा राजीनामा दिएर वामदेवका लागि ठाउँ खाली गर्न सकारात्मक देखिएका थिए । उनी ‘वामदेवको पक्षमा माहोल बनाउने’ भन्दै जिल्ला पनि गएका थिए । तर काठमाडौं फर्केपछि उनी ‘मतदाताको दबाबका कारण’ राजीनामा नदिने निष्कर्षमा पुगेका छन् ।
पछिल्लो समय बुढाले राजीनामा दिनै परे पनि फागुन–चैततिर मात्रै उपयुक्त वातावरण बन्ने सुनाउन थालेको नेकपाका एक नेताले बताए । त्यतिखेर सम्म पार्टी कमिटीसँगै जनवर्गीय संगठनको पनि एकता भइसक्ने भएकाले निर्वाचन जित्न सजिलो हुने उनको तर्क छ ।
बुढालाई राजीनामा गराएर वामदेवलाई सांसद बनाउने विषयमा पार्टी भित्रै पनि अन्तर्विरोध छ । सुरुमा अध्यक्ष प्रचण्ड सहितका केही नेताहरूले वामदेवलाई संसदमा भित्र्याउने अभियान थाले । त्यसमा अर्का अध्यक्ष केपी ओलीले पनि सहमति जनाए । दुवै अध्यक्ष सकारात्मक देखिएपछि नै बुढा जिल्ला गएका थिए । वामदेव उपनिर्वाचनबाट निर्वाचित भएपछि बुढालाई दुई वर्ष भित्रै राष्ट्रिय सभामा ल्याएर मन्त्री बनाउने आश्वासन दिइएको थियो ।
तर पछिल्लो समय वामदेवलाई सांसद बनाउने विषयमा ओलीले रुचि देखाएका छैनन् । उनले उपनिर्वाचनबाट वामदेवलाई सांसद बनाउनु पर्ने प्रस्ट आधारहरू हुनुपर्ने बताउने गरेका छन् । ‘वामदेवलाई किन सांसद बनाउनुपर्यो ? संसदमा वामदेव चाहिन्छ नै भन्ने के त्यस्तो आधार छ ? वामदेवलाई कुनै खास योजनामा सांसद बनाउन थालिएको हो भने किन ल्याउनुपर्यो ?’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनका एक सल्लाहकारले भने ।
यता डोल्पाका सांसद बुढाले राजीनामा नदिने भएपछि वामदेवका लागि उपनिर्वाचन गराउने अर्को क्षेत्रको खोजी हुन थालेको छ । पूर्वी रुकुम र प्युठान विकल्प हुन सक्ने भन्दै छलफल चलेको छ । पूर्वी रुकुममा कमला रोक्का र प्युठानमा दुर्गा पौडेल सांसद छन् ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया