काभ्रेको पाँचखाल नगरपालिका–१२ काँसकोटमा दर खाएर बिरामी परेकाहरुले इनारको पानी प्रयोग गरि दर पकाएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक गिरीले स्थानीयलाई उदृत गर्दै दिएको जानकारी अनुसार दर पकाउँदा उनीहरुले इनार र कुवाको पानी प्रयोग गरेका थिए ।
स्थानीय ग्रामीण स्वावम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार आयोजना गरेको दरखाने कार्यक्रममा सहभागी भएर दर खाँदा सो गाँउका ३ सय भन्दा बढी महिला पुरुष बिरामी परेका हुन् । उनीहरुमध्ये तीन जना धुलिखेल अस्पतालको आइसियुमा छन् ।
दर खान गएकी गीता खनालले भने “गाह्रो भएर कोही सुतिरहनु भएको छ, कोही अस्पतालमा लगिसकेको र कोही ल्याउने क्रममा रहेको छ ।” अर्का बिरामी पाँचखाल नगरपालिका–९ भेटवालथोकका देवकुमारी भेटवालले सहकारी संस्थाको आयोजनामा भएको दरखाने क्रममा बिरामी परेको बताए । “सबैजना नै मिलेर पकाएर खाएका हौँ, खै के भयो, खाएपछि सबैजसो बिरामी पर्न थाल्यौँ ।” उनले भने, “खानामा चना, केराउ, पुलाउ, पनिर र मुलाको अचार वितरण गरेको थियो ।”
पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले गाउँमा सहकारीले आयोजना गरेको तीजको भोज दर खाँदा गाउँभरिका मानिस बिरामी परेको र उपचारको लागि स्वाथ्य शिविर खडा गरी उपचार गराइरहेको बताउनुभयो । खरेलले भने, “झण्डै ३०० भन्दा बढी नै बिरामी भएको अवस्था छ, केहीको बनेपा र धुलिखेलमा उपचारका लागि पठाइसकेको र बाँकीको गाउँमा नै उपचारको लागि पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र र धुलिखेल अस्पतालको स्वास्थ्यकर्मीको टोलीले उपचार गराइरहेको छ ।”
जिल्ला प्रहरी कार्यालय प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक गिरीका घटनास्थललगायत पाँचखालमा भएको पोलिक्लिनिक र बनेपा धुलिखेलका अस्पतालमा गरी २००० भन्दा बढीको उपचार भइरहेको छ । कोही आफ्नै ढङ्गले उपचार गरी घर फर्किसकेको र कोहीको गाउँमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ । सामूहिक भोजमा भएका कारण एकै पटक धेरैजसो बिरामी परेकाले सबैजसो ठाउँमा उपचार भइरहेकाले सङ्ख्या एकीन हुन नसकेको गिरीले बताए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार धुलिखेल सामुदायिक अस्पतालमा ७० जना, शिर मेमोरियल अस्पताल बनेपामा ३३ जना, बनेपा हस्पिटलमा १० जना र २६ जनालाई काठमडौँस्थित सिभिल हस्पिटलमा पठाइसकेको छ भने बाँकीको स्थानीयस्तरमा नै उपचार भइरहेको छ । अहिले त्यहा पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रबाट बिहान ८ बजेदेखि स्वास्थ्य शिविर सञ्चालन गरेर त्यहाँका जनभावना प्राथमिक विद्यालयको प्राङ्गणमा उपचार भैरहेको छ ।































प्रतिक्रिया