काठमाडौँ

महानगरीय प्रहरी अपराध महाशाखाले पेसेवर गुन्डा बाहेक गरेका दुईटा ‘इन्काउन्टर’ विवादित बनेका छन् । "/>

यसकारण शंकाको घेरामा प्रहरी इन्काउन्टर !

यसकारण शंकाको घेरामा प्रहरी इन्काउन्टर !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

महानगरीय प्रहरी अपराध महाशाखाले पेसेवर गुन्डा बाहेक गरेका दुईटा ‘इन्काउन्टर’ विवादित बनेका छन् । २०७४ साउन २३ मा ललितपुरको कुसुन्तीमा लागूऔषधको कुलतमा फसेका युवक प्रवीण खत्री र यही साउन २१ (सोमबार) गते भक्तपुरमा बालक अपहरणपछि हत्या गरी भाग्दै गरेका दुई जना माथि गरिएको ‘इन्काउन्टर’ विवादमा परेको हो ।

भक्तपुरमा ११ वर्षीय निशान खड्काको अपहरणपछि हत्या घटनामा संलग्न भनिएका गोपाल तामाङ र अजय तामाङको इन्काउन्टर प्रहरीले आफू ‘पपुलर’ हुन मात्रै गरेको देखिन्छ । आइतबार साँझ देखि अपहरणमा परेका बालक खड्कालाई प्रहरीले सकुशल अपहरणमुक्त गर्न सकेन । प्रहरीले बालकको अपहरणपछि हत्या गर्नेलाई पक्राउ गरी सूर्यविनायकको जंगलमा लगेर गोली हान्यो र त्यसलाई ‘इन्काउन्टर’ भनिदियो ।

तामाङद्वय डेरा गरी बसेको भक्तपुरको ठिमीस्थित घरमा सोमबार बिहान ९ बजेतिर पुगेका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएका थिए । प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरुकै सहयोगमा बालकको शब बरामद गरेको थियो । ‘तीन वटा गाडीमा सादा पोसाकमा आएका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएका थिए । यहाँबाट ११ बजेतिर प्रहरी कार्यालयमा लगेका हुन’, गोपालका घरधनी श्याम लबटले भने । उनका अनुसार १०÷१५ जनाको संख्यामा आएका प्रहरीले उनीहरुलाई समातेर लगेका थिए । १० बजेतिर प्रहरीले बालकको शव गाडेको अवस्थामा बरामद गरेको थियो ।

अपराध महाशाखाले बालकको शव बरामद र अपहरणकारी नियन्त्रणमा लिएको जानकारी पाएपछि खोजीमा काठमाडौं परिसरबाट खटिएका प्रहरीलाई फिर्ता हुन महानगरीय प्रहरी आयुक्तको कार्यालयले आदेश दिएको थियो ।

महाशाखाले सोमबार जारी गरेको विज्ञप्तिमा दिउँसो १२ः३० मा बालकको शव भेटिएको र १ः२० मा अपहरणकारी प्रहरी माथि आइलागेका कारण इन्काउन्टर भएको उल्लेख छ । स्थानीय बासिन्दा तथा गोपालका घरधनीको दावीलाई आधार मान्ने हो भने प्रहरीको यो दाबी पत्यारिलो छैन । अपहरणकारी फेला नपरेको समयमा त्यस इलाकामा प्रहरीले कसैलाई पनि घरबाट निस्कन दिएको थिएन । अपहरणकारीकारीलाई नियन्त्रणमा लिएपछि प्रहरीले बालक खड्काको शव बरामद गरेकाले पनि उनीहरु सूर्यविनायकको जंगलमा आफैं गए भन्ने प्रहरीको भनार्इमा दम देखिँदैन ।

नेपाल प्रहरीले पछिल्ला वर्षमा ‘मुम्बई इन्काउन्टर’ (गुन्डालाई जहाँ देख्यो त्यहीं गोली हानेर मार्ने) जस्तै गर्न खोजिरहेको छ । भारतमा प्रहरीले पेसेवर गुन्डालाई मात्र सफाया गर्न इन्काउन्टर अभियान चलाउँदै आएको छ । तर नेपालमा पेसेवर गुन्डालाई मात्र इन्काउन्टर गरिएको छैन ।
नागरिकबाट

Logo