सिन्धुपाल्चोक
भूकम्पबाट सबैभन्दा वढी क्षति बेहोरेको सिन्धुपाल्चोकका साँढे ४४ हजार भन्दा बढी पीडित परिवार नयाँ घरमा सरेका छन् ।
भूकम्पले भत्काएका संरचनाका भग्नावशेष र खण्डहर पन्छाउँदै पुनर्निर्माण सकेर उनीहरु भूकम्पप्रतिरोधी नयाँ घरमा सरेका हुन् । ०७२ वैशाख १२ को विनाशकारी भूकम्पले सर्वाधिक क्षति पु¥याउने क्रममा ९५ प्रतिशत भन्दा बढी घर क्षतिग्रस्त बनाउँदै सिन्धुपाल्चोकलाई झण्डै–झण्डै संरचनाविहिन जिल्लामा बदलेको थियो । नभत्किएका घर पनि मर्मत सम्भार नगरी बस्न योग्य थिएनन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) प्रमुख टंकप्रसाद गौतम तेस्रो किस्ता अनुदान लिने संख्याका आधारमा ४४ हजार ६ सय ७२ भूकम्प पीडित परिवार पुनर्निर्माण सकेर नयाँ संरचनामा सरेको बताउँछन् । उनका अनुसार यो सँगै जिल्लामा पीडितका ५१ प्रतिशत आवास निर्माण सम्पन्न भएको छ ।
‘यो निकै उत्साहजनक तथ्यांक हो,’ जिल्ला आयोजना प्रमुख गौतमले भने, ‘प्राधिकरणले अनुदान किस्ता लिने समय सीमा तोकेपछि पुनर्निर्माणले ह्वात्तै गति लिँदै आएको छ ।’ इकाइको तथ्यांक अनुसार अघिल्लो वर्षको कात्तिक सम्म जिल्लामा पुनर्निर्माण सम्पन्न घर संख्या दुई प्रतिशत मात्र थियो । त्यसपछि प्राधिकरणले दोस्रो र तेस्रो किस्ता लिने समय सीमा तोक्दै आएको छ ।
प्राधिकरणले दोस्रो किस्ता लिने अघिल्लो गत पुससम्मको समय सीमा पटक–पटक बढाउँदै गत असार सम्म पु¥याएको थियो । उक्त समय सीमा नबढाइए पनि दोस्रो किस्ता वितरण रोकिएको छैन् । तेस्रो किस्ता लिने समय सीमा आउँदो पुस सम्मको छ । ‘त्यति बेलासम्म जिल्लाको पुनर्निर्माण अन्तिम चरणमा पुग्ने देखिन्छ,’ सहरी विकास तथा भवन निर्माण डिभिजन प्रमुख रहेका गौतमले दाबी गरे ।
इकाइका अनुसार ३१ हजार ५६ घर निर्माणाधीन अवस्थामा छन् । दोस्रो किस्ता अनुदान निकासा भइसकेका यी घर पुनर्निर्माणको अन्तिम चरणमा पुगेका छन् । यो समेत ७५ हजार ७ सय २८ पीडित परिवार पुनर्निर्माणमा प्रत्यक्ष जुटिरहेको तथ्यांकले देखाएको छ । भूकम्पपछिको पहिलो चरणको सर्वे, गुनासो र पछिल्लो पटक गत वर्ष गरिएको छुट र पुनः सर्वे समेतबाट सिन्धुपाल्चोकमा पीडित लाभग्राहीको संख्या बढेर ८६ हजार ९ सय ७१ पुगेको छ ।
नागरिकबाट





























प्रतिक्रिया