भक्तपुर
अविरल वर्षाले आएको बाढीका कारण भक्तपुरका बिभिन्न भाग डुबानमा परेका छन् । बाढीका कारण मध्यपुर थिमि नगरपालिका र भक्तपुर नगरपालिका अन्तर्गतका बिभिन्न भाग डुबानमा परेका हुन् । हनुमन्ते खोलामा आएको बाढीले मध्यपुरथिमिको राधेराधे क्षेत्र डुबानमा पर्दा खोला आसपासका ७० भन्दा बढी घर जलाम्य भएका छन् ।
खोला बढेपछि हनुमन्ते र मनोहरा खोला किनारका बासिन्दाको घर भित्र पानी पसेको छ । खोलामा बाढी उर्लिएपछि किनाराका बस्ती र भूकम्प पीडितको शिविरमा पानी पसेको हो । मनोहरा खोलामा समेत पानीको सतह बढेपछि सुकुम्वासी बस्तीमा पनि खोला पसेको छ । बाढी बस्तीमा पसेपछि मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार क्षेत्र, ठिमी त्यसैगरि भक्तपुरको जगाती, हनुमान घाट, बाराही क्षेत्र आसपासका घरहरु, सिद्धिस्मृति प्रतिष्ठान, शान्ति निकेतन मावि लगायतका बिभिन्न भाग समेत जोखिममा परेका छन् ।
बाढीका कारण सयौं घर, मठमन्दिर र विद्यालयहरु डुबानमा परेका छन् । राति देखि डुबानमा पर्न थालेपछि उद्धारको कार्य शुरु गरेको भक्तपुर महानगरीय प्रहरी परिसरका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए । बाढीले भक्तपुर जिल्लाका बिभिन्न स्थानका भित्री भुभाग समेत प्रभावित भएका छन् ।
बाढीका कारण हनुमन्ते खोलाका पुल र चाँगुनारायण नगरपालिकाको कुईकेल गाउँ समेत खतरामा परेको छ । बर्षाका कारण चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका ग्रामिण क्षेत्रका धेरै ठाउँमा पहिरो गएपछि घरहरु उच्च जोखिममा परेको प्रहरीले जनाएको छ । विशेष गरि सडक छेऊ र भीरमा बनेका घरहरु पहिरोको उच्च जोखिममा परेका छन् ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया