काठमाडौँ
सरकारले आगामी साउन १५ बाट कर्मचारीको स्थायी समायोजनको प्रक्रिया शुरू गरिने जनाएको छ ।
मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले साउन १५ वरिपरि मन्त्रालयले सार्वजनिक सूचना निकालेर स्थायी समायोजनको प्रक्रिया अघि बढाउने तयारी भएको बताए । कर्मचारी समायोजन ऐन २०७४ अनुसार समायोजन प्रक्रिया अघि बढाइने उनको भनार्इ छ । अधिकारीले भने, ‘स्थानीय, प्रदेश र संघमा स्थायी रूपमै कर्मचारीको समायोजन गर्न साउन १५ वरिपरिबाट प्रक्रिया सुरू हुन्छ ।’ कर्मचारीको चाहना, जेष्ठता, घरपायक जस्ता कुरालाई समायोजनमा प्राथमिकतामा राख्ने मन्त्रालयको भनार्इ छ ।
यता प्रदेश, स्थानीय र संघीय सरकार चलाउन हाल कार्यरत कर्मचारीको संख्या अपुग हुने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप बीस हजार कर्मचारी आवश्यक पर्ने जनाएको छ ।
सरकारले प्रदेश र संघमा व्यवस्थापन तथा सर्वेक्षण (ओएनएम) सर्भे सिध्याएको छ । सो अनुसार संघमा करिब ४५ हजार र प्रदेशमा करिब १६ हजार कर्मचारी आवश्यक पर्ने जनाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले हाल कार्यरत कर्मचारी संख्याले प्रदेश, स्थानीय र संघमा नपुग्ने बताए । उनले भने, ‘ओएनएम रिर्पोट अनुसार थप २० हजार कर्मचारी आवश्यक पर्छ । हाल भएको कर्मचारीको संख्याले नपुग्ने भएको छ ।’
यस अघि गरिएको प्रारम्भिक अनुमानमा हाल भएको कर्मचारीको संख्याले स्थानीय, प्रदेश र केन्द्रमा पर्याप्त हुने अनुमान गरिएको थियो । हाल देशभर स्वास्थ्य सेवामा कार्यरत कर्मचारी सहित करिब १ लाख १७ हजार निजामती कर्मचारी कार्यरत छन् । मुलुक संघीय संरचनामा गएपछि सुरूमा सिंहदरबारका केही विभाग र शाखा हटाउन खोजिएको थियो भने केही शाखा र विभाग मर्ज गर्ने तयारी भएको थियो । तर ओएनएमको अन्तिम रिर्पोटमा भने संघमा रहने शाखा र विभाग एक , दुई बाहेक कटौती भएनन् । यसबाट केन्द्रमा कर्मचारीको संख्या बढेको मन्त्रालयको भनाइ छ । हाल केन्द्रमा ५३ विभाग कायम गरिएका छन् । यसैगरी केन्द्रबाट प्रदेशमा पठाउन खोजिएका केही कार्यालय केन्द्रमै रहने भएपछि केन्द्रमा कर्मचारीको संख्या बढेको हो ।
नागरिकबाट





























प्रतिक्रिया