भक्तपुर
भक्तपुरमा आएको बाढीपहिरो र डुबानका कारण ११ करोड ९३ लाख ५० हजार १२५ बराबरको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले असार २७ र २८ गते परेको अविरल वर्षाको कारण भएको क्षतिको विवरण सार्वजनिक गर्दै चाँगुनारायण नगरपालिकामा पहिरोका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको, डुबानमा परेका चार जना घाइते भएको र १११ जनाको सकुशल उद्धार गरिएको जानकारी दिए ।
डुबानमा ५२२ र पहिरामा १५ घरटहरामा क्षति पुगेको, २८ उद्योग, कलकारखाना र पेट्रोल पम्प, १३३ किराना र थोक पसल, एक , एक सडक र पुल, दुई , दुई अस्पताल र विद्यालयमा क्षति पु¥याएको छ । बाढीले ३७ बंगुर र ८२५ कुखुरा बगाएको छ , उद्योग, कलकारखाना र पेट्रोल पम्पमा करीव तीन करोड ९३ लाख ९५ हजार १२५, किराना र थोक पसलमा करीव चार करोड ४६ लाख १३ हजार, अस्पतालमा तीन करोड ४० लाख १६ हजार , मेरिगोल्ड इङ्गलिस स्कूल बालकोटमा तीन लाख, चौपाया र पशुपक्षीमा करीव १० लाख २६ हजार बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक रहेको प्रजिअ भट्टले जानकारी दिए ।
प्रहरी परिचालन गरी संकलित क्षति विवरण सार्वजनिक गर्दै उनले सम्बन्धित नगरपालिकाबाट थप क्षति विवरण माग गरिएको र आउन बाँकी रहेको बताए । तथ्यांक अनुसार बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रमा करीव तीन करोड ४१ लाख ६१ हजार, मध्यपुरथिमि नगरपालिका क्षेत्रमा करीव करोड ९५ लाख १० हजार २५०, सूर्यविनायक नगरपालिकामा दुई करोड ७० लाख ९१ हजार र चाँगुनारायण नगरपालिकामा २३ लाख ९८ हजार बराबरको क्षति भएको छ । चाँगुनारायणको सुडालमा दुई पक्की र १३ कच्ची घर गरी करीव ५० लाख बराबरको क्षति भएको छ ।
प्रजिअ भट्टका अनुसार बागेश्वरीमा तीन जनाको मृत्यु भएको र सबभन्दा बढी भौतिक क्षति मध्यपुरथिमि क्षेत्रमा भएको अनुगमनका क्रममा पाइएको छ । उद्धार शनिबार सम्म जारी रहेको बताउँदै उनले भने, “हिजो बिहान देखि दिनभरी सांसद महेश बस्नेतको नेतृत्वमा प्रशासन, सबै सुरक्षा निकायका प्रमुख, नगर प्रमुख, जनप्रतिनिधि सहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करीव ७० जनाको टोलीले सरसफाइ गरी डुबानमा परेका व्यापारीको गोदामका सामान निकाल्ने र उद्धार गर्ने कार्य गरियो ।”
भत्किएका ठाउँमा ग्याबिन पर्खाल लगाउने, डुबान क्षेत्रमा शुद्ध खानेपानी वितरण गर्ने र सडक पुनःसञ्चालन गर्ने लगायत कामका लागि सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिए अनुरुप काम भईरहेको उनको भनाइ छ । असार २९ गते बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा चारै नगरपालिकाले २४ घण्टा भित्र क्षति विवरण संकलन गरेर प्रशासनलाई बुझाउने र राहत वितरण गर्ने प्रतिबद्धता जनाए पनि आज सम्म कुनै पनि नगरपालिकाले क्षति विवरण बुझाएका छैनन् । जनप्रतिनिधि जनताकै काममा उदास भएको र चासो नदिएको गुनासो बढेको छ ।
रासस





























प्रतिक्रिया