जुम्ला
डा. गोविन्द केसीले काठमाडौँमा शनिवार उनको समर्थनमा भएको आन्दोलनलाई अडियो मार्फत सम्बोधन गरेका छन् । उनले चिकित्सा शिक्षा अध्यादेश यथारुपमा पारित नगरिए आफ्नो अनसन कुनैपनि हालतमा नतोडिने चेतावनी दिएका छन् ।
डा. केसीले अडियो मार्फत गरेको सम्बोधनको पूर्ण पाठ यस्तो छः
नमस्ते उपस्थित महानुभावहरु, म जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बोल्दैछु । म जुम्लामा सत्याग्रहमा छु । र हामी जुम्लामै किन गर्नु पर्यो सत्याग्रह भने, हामी एक दशक देखि लडिरहेका छौँ । गाउँगाउँमा स्वास्थ्य सेवा पुगोस् । गाउँका मान्छे निम्न बर्ग, मध्यम वर्ग बिपन्न बर्गले पनि डाक्टर नर्स अनि स्वास्थ्य सम्वन्धी विज्ञहरु अथवा चाहिँ स्वास्थ्य कार्यकर्ताहरु बन्न सकुन् , पढ्न सकुन्, त्यस्तो खालको ऐन बनोस् । जबकी ग्रामिण भेगका असी प्रतिशत जनता अपहेलित उपेक्षीत छन् । र त्यसैकारणले गर्दाखेरी यो जुम्ला भन्दा उपयुक्त स्थल कहिँ हुन सक्दैन । र यहाँ जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको ८ बर्ष भयो । तर अहिलेसम्म सन्चालनमा आउन सकेको छैन ।
यो कर्णाली भेक, कर्णाली क्षेत्र राज्यबाट सबै भन्दा वेसी उपेक्षीत क्षेत्र पनि हो । यहाँका मान्छे गरिब छन्, यहाँका मान्छे बेरोजगार छन् । यहाँका मान्छे अशिक्षित छन् । र यहाँको स्वास्थ्य संस्थाहरु मध्ये कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएस पढाई सन्चालनमा आउन सकेको छैन । यदि सन्चालनमा आउन सकेको भए यहाँका मान्छे डाक्टर बन्थे, यहाँका मान्छे नर्स बन्थे। यहाँका मान्छेहरु स्वास्थ्य सम्वन्धी विज्ञ बन्थे, स्वास्थ्य कार्यकर्ताहरु बन्थे र यो ठाउँमै स्वास्थ्य सेवा गर्थे । यहाँको स्वास्थ्य सेवाको गुणस्तर बढ्थ्यो। सबैले स्वास्थ्य सेवा पाउँथे र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गुणस्तरीय स्वास्थ्य सेवा पाउँथे। यहाँका मान्छेलाई रोजगारीको अवसर सृजना हुन्थ्यो। यो ठाउँको समग्र विकास हुन्थ्यो । तर यो अहिलेको सरकारले जसले यिनीहरुलाई भोट दिएर दुई तिहाई बहुमत ल्याउन मद्दत गरे उनिहरुको हकहितको बिरुद्ध माफिया, डन, नेताहरु पोस्ने ऐन ल्याउँदैछ, हाम्रो आन्दोलनका कारण जनतामुखी र विद्यार्थीमुखी अध्यादेश बनेको थियो ।
त्यो अध्यादेशलाई तोडमोड गरेर माफिया डन, भ्रष्ट नेतामुखी ऐन ल्याउन लाईराख्या छ । त्यसैको बिरुद्ध मैले यो सत्याग्रह सुरु गरेको हो । अनि अर्को कुरो म चाहिँ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सक्षम दक्ष डाक्टरहरु छन् , हाल यहाँ चाहिँ विशेषज्ञ जनशक्ति धेरै कम छ । यो सरकारको कमजोरी हो। सरकारको उदासिनताले गर्दा भएको हो । तर यहाँ जे छन् , सक्षम छन् । र म पुनः विश्वास गर्छु यो टिमलाई मेरो राम्रो हेरचाह भैरहेको छ । त्यस कारणले गर्दाखेरी म यहिँ नै अनशन र सत्याग्ह गरिरने छु ।
तर जव सरकारका तर्फबाट विभिन्न बहानाबाजी गरेर मलाई यहाँबाट उठाएर काठमाडौँ लगेर सत्याग्रह तुहाउने प्रयास हुँदैछ । तिनीहरुलाई मेरो स्वास्थ्यको यति नै सरोकार राख्ने भए देखि मेरो माग पुरा गर म अनशन तुरुन्त तोड्छु । यति सिम्पल कुरो छ । त्यस कारणले गर्दा जवसम्म मेरो माग पुरा हुँदैन, म अनशनबाट भाग्दिन । मेरा मागहरु थुप्रै छन् । त्यसमा चिकित्सा शिक्षा अध्यादेशमा कुनै पनि तोडमोड नगरिकन यथारुपमा पारित हुनुपर्छ । र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तुरुन्त पूर्णरुपमा सञ्चालनमा ल्याउनु पर्छ । र संगसंगै आयोगले भ्रष्टहरुलाई कारवाही गर्नुपर्छ । र यो शिक्षामा राजनीतिक भागवण्डा र हस्तक्षेप अन्त्य गरिनु पर्छ, त्यो संगसंगै अरु मागहरु पनि पुरा हुनुपर्छ। धन्यवाद ,नमस्कार ।
नागरिकबाट































प्रतिक्रिया