काठमाडौं
दुई खानेपानी आयोजनाका लागि ५० करोडको पाइप खरिद गर्दा नेपाल खानेपानी संस्थानबाटै २५ करोड घोटाला भएको छ । संस्थानद्वारा सञ्चालित बुटवल खानेपानी आयोजना र राप्ती खानेपानी आयोजनाका लागि पाइप खरिदमा अनियमितता भएको हो । अनियमितता भएको उजुरीका आधारमा गरिएको छानबिनमा २५ करोड घोटाला भएको पाइएको हो । खानेपानी तथा सरसफाइमन्त्री विना मगरको निर्देशनमा मन्त्रालयले कानुनका उपसचिव गुणराज श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
छानबिन समितिले संस्थानले पाइप खरिदका लागि लागत अनुमान देखि नै अनियमितता सुरु भएको प्रतिवेदन तयार पारेको छ । कम्पनी छनोटका लागि मापदण्ड तोक्दा नै मिलेमतोमा दुईवटा कम्पनीलाई ठेक्का पारेर आर्थिक हिनामिना गरिएको प्रतिवेदनमा दाबी गरिएको छ ।
‘संस्थानले एकै प्रकृतिको कामलाई दुई टुक्रा पारेको छ, दुई ठेकेदार कम्पनीसँगको मिलेमतोमा इस्टिमेट तयार पारी सोही रेटमा टेन्डर आह्वान गरेको र ठेकेदार कम्पनीले पूरा गर्नुपर्ने मापदण्ड पनि दुई कम्पनीसँग मिल्ने गरी मात्र बनाएको पाइयो,’ छानबिन समितिको प्रतिवेदनमा भनिएको छ, ‘त्यसरी मिलेमतोमा ठेक्का पाएको कम्पनीले ५० करोड लागतमा किन्नु पर्ने पाइपको भन्सार पास गरेको प्रज्ञानपत्र हेर्दा जम्मा २५ करोडमा खरिद भएको देखिन्छ ।’
छानबिन समितिका एक सदस्यले भने, ‘दुवै कम्पनीले सम्झौता अनुसार ल्याउनु पर्ने पाइप र पाइप फिटिङका सामान ल्याइसकेको देखिन्छ, खरिद गरी ल्याएको पाइपको गुणस्तर पनि सम्झौता अनुसारकै छ, तर सबै सामान ल्याएको भन्सार पास हेर्दा कुल लागत २५ करोड मात्र देखिन्छ ।’
नयाँ पत्रिकाबाट































प्रतिक्रिया