काठमाडौं

११ दिन देखि अनशनरत डा. गोविन्द केसीका माग प्रति कठोर नबन्न जुम्ली महिलाले सरकारलाई सुझाब दिएका छन् । "/>

डा. केसीको समर्थनमा जुम्ली महिला सडकमा उत्रिए

डा. केसीको समर्थनमा जुम्ली महिला सडकमा उत्रिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

११ दिन देखि अनशनरत डा. गोविन्द केसीका माग प्रति कठोर नबन्न जुम्ली महिलाले सरकारलाई सुझाब दिएका छन् । केसीको समर्थनमा मंगलबार र्‍याली निकालेका महिलाले जायज माग सम्बोधन गर्न माग गरेका हुन् ।

आन्दोलनमा सहभागी रूपा महतले केसीका माग नाजायज नभएको बताइन्  । ‘आम नागरिक, गरिब र आर्थिक रूपमा कमजोर अभिभावकका छोराछोरीले निःशुल्क मेडिकल शिक्षा पढ्न पाउनुपर्छ भन्ने डाक्टर केसीको माग नाजायज होइन,’ उनले भनिन्, ‘केसीको माग गलत हो भने के हामीले छोराछोरीलाई मेडिकल शिक्षा पढाउन सपना नदेखे हुने भयो ?’

र्‍यालीकी अगुवा महिला सीता बुढाले राज्यको मनपरीका कारण आफूहरू विरोधमा उत्रिन बाध्य भएको बताइन् । ‘डा. केसी प्रतिष्ठानमा छट्पटिइरहेका छन्, ११ दिन सम्म राज्यले कुनै चासो नदेखाएकाले दबाब दिन हामी आन्दोलनमा उत्रिनु परेको हो,’ बुढाले भनिन् ।

यता डा केसीले अत्यावश्यक औषधि समेत खान नमानेपछि स्वास्थ्य अवस्था झन खस्किँदै गएको चिकित्सकहरूले बताएका छन् । उनलाई संक्रमणबाट बचाउन स्पेसल केयर युनिटमा राखेर निगरानी मात्र गरिएको डा प्रवीणकुमार गिरीले बताए । छातीको बीच भागमा अत्याधिक दुख्ने, चक्कर लाग्ने, शरीरका मांसपेशी बाउँडिने समस्या देखिएको उनले बताए । केसीको पिसाबमा किटोन बढी देखिएको छ भने रगतमा चिनीको मात्रा कम भएको छ । सेता रक्तकोषिका क्रमिक रूपमा घट्दै गएको तथा मुटुको चाल तल माथि भइरहेको गिरीले बताए ।
नयाँ पत्रिकाबाट

Logo