राजविराज
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको माहुली पुल एक साइडवाट भत्किएपछि सवारी आवागमन असहज भएको छ भने तत्काल मर्मत र सुरक्षा नगरे वाँकी रहेको भाग समेत भत्किने खतरा बढेको छ । अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ स्थित माहुली खोलामा रहेको पुल १ हजार १०० मिटर मध्ये उत्तरपटिवाट करिव ५० मिटर भाग भत्किएको छ । चार दिन अघिको वर्षासँगै खोलामा आएको बाढीका कारण पुलमा क्षती पुगेको थियो । समयमा मर्मत नहुँदा शनिवार साँझ साँढे ६ बजे क्षती भएको भाग भत्किएको स्थानीय अशोक आचार्यले वताए ।
पुलको एकतर्फको भाग भत्किएपछि एकतर्फी रुपमा यातायात सञ्चालन गरिएको छ । तर समयमा मर्मतको काम नभए वर्षात सुरु भएपछि बढीले माटो बगाएर वाँकी रहेको भाग समेत वगाउन सक्ने खतरा रहेको स्थानीयवासीहरु वताउँछन् । यो पुल भएर दैनिक साना/ठुला गरी करिव ३ हजार सवारी साधन आवत जावत गर्छन् । एकतर्फी रुपमा यातायात सञ्चालनमा आईरहेकाले तत्काल कुनै समस्या नदेखिएपनि पानी पर्न थालेपछि खोलामा आउने वाढिले कटान गरेर बाँकी भाग पनि बगाउन सक्ने सप्तरीका एसपी मुकेश कुमार सिंह वताउँछन् ।
‘चार दिन अघि नै पुर्वपश्चिम चिरिएर पुलको एक साईड भास्सिएको थियो । हामीले लहान स्थित सडक डिभिजन कार्यालयलाई जानकारी पनि गराएका हौ’ एसपी सिंहले भने– ‘तर समयमा सुरक्षाको प्रवन्ध मिलाउन नसक्दा पुल भत्किएको हो ।’ तत्काल सुरक्षाको ब्यवस्था नमिलाएर खतरा वाँकी नै रहेको उनको भनाई छ ।
सडक डिभिजन कार्यालयले भने यातायातमा अवरोध नहुने गरी पुलको सुरक्षा र मर्मतको काम सुरु भईसकेको जनाएको छ । भत्किएको ठाउँमा तारजाली लगाएर मर्मत र सुरक्षा गर्ने तथा क्षती पुगेको भागमा वाढिले असर नगरोस भन्नका लागि माथिल्लो भागमा निर्माणका लागि तयारी भईरहेको सडक विभागका पुर्वाञ्चल क्षेत्रीय निर्देशक दिपक कुमार भट्टराईले वताए ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया