कौशिला रिसालको दोस्रो कृति विमोचन

कौशिला रिसालको दोस्रो कृति विमोचन


साहित्यकार कौशिला रिसालको दोस्रो साहित्यिक कृति किशोर कथा संग्रह ‘आहा फूल’को आज विमोचन भएको छ । राजधानीको नयाँ बजारस्थित आधारशिला कलेजको सभाहलमा एक कार्यक्रमको आयोजना गरि कृति विमोचन गरिएको हो ।

साहित्यकार माया ठकुरी प्रमुख अतिथी रहनु भएको कार्यक्रममा पूर्विय वाङ्मयका अध्यता तिलक लुईंटेल, प्राध्यापक डा. भगवान चन्द्र ज्ञवाली लगायतले सो कृतिको एकैसाथ विमोचन गर्नु भएको थियो ।

पहिलो कृति बालकथा संग्रह प्रकाशित पश्चात रिसालको यो किशोर कथा संग्रह बजारमा आएको हो । मानिसको किशोर अवस्थामा आउन सक्ने परिवर्तन र सोचलाई प्रस्तुत संग्रहमा कथाको रुपमा उतारिएको छ । कृतिमाथि समिक्षा गर्दै तिलक लुईंटेलले प्रस्तुत कथासंग्रह समय सान्दर्भिक र उत्कृष्ट रहेको चर्चा गर्नु भयो ।

अर्का समिक्षक भगवान चन्द्र ज्ञवालीले साहित्यकार रिसालका कथा मिठा, सरल र बुझ्न सकिने खालका रहेको बताउनुभयो । कार्यक्रमकी प्रमुख अतिथी कथाकार माया ठकुरीले पछिल्लो पुस्तामा नयाँ छाप छोड्न ‘आहा फूल’ सफल हुने विश्वास व्यक्त गर्नु भयो । आफूले शिक्षण पेशामा देखेका, भोगेका र सुनेका विषयहरुलाई कथामा उतारिएको अनुभव साहित्यकार रिसालको थियो ।

Logo