काठमाडौं
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले निर्वाचित सांसद रेशम चौधरीलाई शीघ्र रिहाइ गर्न सरकारसँग माग गरेको छ । सोमबार शुरु भई बुधबार सम्पन्न रापजा नेपालको राजनीतिक समितिको बैठकले सांसद चौधरी लगायत मधेश आन्दोलनका क्रममा विभिन्न जिल्लामा बन्दी बनाइएका नेता तथा कार्यकर्ताको मुद्दा फिर्ता गरी रिहाइ गर्न माग गरेको हो । यस्तै बैठकले तत्काल सरकारमा नजाने समेत निर्णय गरेको छ । सरकारले संविधान संशोधनको विषयलाई बेवास्ता गरेको र सांसद रेशम चौधरीलाई रिहाई नगरे सम्म राजपा सरकारमा नजाने पनि बताईएको छ ।
बैठकले मधेश थरुहट आन्दोलनका क्रममा भएका ज्यादतीको छानविन गरी सत्यतथ्य जनसमक्ष ल्याउन सर्वोच्च अदालतका सेवानिवृत्त न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा गठित उच्चस्तरीय न्यायिक छानविन आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न समेत माग गरेको छ । सरकार गठन हुँदाका बखत प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका प्रतिबद्धता अनुसार यथाशीघ्र संविधान संशोधन गर्न बैठकले माग गरेको संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
राजपा नेपालको विधान २०७४ को धारा–२२ (१०) मा “राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय महाधिवेशन एक वर्ष भित्र सम्पन्न गरिनेछ”, लेखिएकामा त्यसलाई “दुई वर्ष भित्र सम्पन्न गरिनेछ” भनी संशोधन गर्ने निर्णय बैठकले गरेको छ । त्यसैगरि राजपा नेपालले पार्टीको महाधिवेशन ०७६ साल वैशाख ७, ८ र ९ गते सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले पार्टी अध्यक्ष मण्डलमा प्रस्तुत गरिएको पार्टीको मस्यौदा विधान परिमार्जन गरी अर्को बैठकमा पेश गर्न सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र वृशेषचन्द्र लाल सम्मिलित तीन सदस्यीय विधान परिमार्जन समिति गठन गर्ने निर्णय गरेको छ ।
राजपा नेपालका केन्द्रीय सचिव तेन्जी लामा (छत्रपति) को असामयिक निधन प्रति गहिरो शोक प्रकट गर्दै बैठकले शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गरेको छ । पार्टी राजनीतिक समितिको अर्को बैठक यही असार २१ गते पुनः बस्नेछ ।
रासस





























प्रतिक्रिया