काठमाडौं
प्राकृतिक विपतमा परी नेपालमा प्रत्येक वर्ष सरदर पाँच सयको ज्यान जाने गरेको छ । तीन अर्ब भन्दा बढीको क्षति हुने गरेको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार प्राकृतिक विपतबाट ०७३ मा चार सय ८३ को र ०७४ मा पाँच सय ९७ को मृत्यु भएको छ । यी दुई वर्षमा मुलुकभर ६ अर्ब ३० करोड तीन लाख १८ हजार तीन सय ४७ रुपैयाँ मूल्य बराबरको संरचना तथा सम्पत्ति क्षति भएको छ ।
यति ठूलो संख्यामा जनधनको क्षति हुनुका प्रमुख कारण बाढी, पहिरो र आगलागी रहेको गृह मन्त्रालयको तथ्यांकले देखाउँछ । गत वर्ष बाढी, पहिरो र आगलागीका कारण मात्रै दुई अर्ब ५९ करोड ९१ लाख ३६० रुपैयाँ बराबरको क्षति भएको थियो । यी तीन विपतमा परी ३३९ जनाको ज्यान गयो ।
वर्षा, हुरी र चिसो पनि मुख्य विपत अत्याधिक वर्षा र हुरी पनि नेपालमा जनधनको क्षति गर्ने प्राकृतिक विपत हुन् । अत्याधिक वर्षा र हुरीका कारण गत वर्ष मात्रै मुलुकभर तीन करोड ७२ लाख ७७ हजार पाँच सय रुपैयाँ बराबरको क्षति भएको थियो । १७ जनाले ज्यान गुमाउनुप¥यो । त्यस्तै चिसोका एक सय पाँचको ज्यान गएको र ५३ लाख १५ हजार रुपैयाँ बराबरको क्षति भएको गृहको तथ्यांक छ ।
पछिल्ला सात वर्षमा प्राकृतिक विपतमा १२ हजार २ सय ३३ जनाले ज्यान गुमाएका छन् । ०७२ मा गएको भूकम्पमा जनधनको क्षति बढी भयो । १२ वैशाख ०७२ को भूकम्प र त्यसपछिका परकम्पका कारण आठ हजार नौ सय ७० को ज्यान गयो । सात वर्षमा प्राकृतिक विपतकै कारण एक हजार बेपत्ता भएका छन् ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया