काठमाडौं
पेट्रोलियम पाइपलाइन बिच्छ्याउनका लागि ६ हजार रुख कटान गरे पुग्ने भएको छ । यसअघि २५ हजार रुख काट्नुपर्ने देखिएकोमा नेपाल आयल निगमले कन्सल्ट्यान्ट मार्फत गरेको हालै गरेको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को अध्ययनले ५ हजार ८ सय रुख कटान गरे पुग्ने देखाएको हो ।
पाइपलाइन विच्छाउनका लागि बाराको पथलैया देखि अमलेखगन्ज सम्म पर्ने वन्यजन्तु आरक्षणको क्षेत्रमा धेरै संख्यामा रुख रहेकाले त्यसलाई व्यवस्थापन गर्न निगमलाई चुनौति थियो । अध्ययनले ५ हजार ८ सय मात्र रुख कटान गरे पुग्ने देखाएपछि पाइपलाइनका लागि रुख कटान र व्यवस्थापन गर्न सहज पुग्ने निगमले जानकारी दिएको छ ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले ईआईएको प्रतिवेदनले ५ हजार ८ सय रुख कटान गरे पुग्ने देखाएको बताए । सुरुको प्रारम्भिक अध्ययनले २५ हजार संख्यामा रुख कटान भनिएको ठाउँमा हाल यो संख्यामा रुख कटान गर्नुे देखिएको उनले बताए । “यसले गर्दा पाइपलाइन बिच्छ्याउने काम छिटो विस्तार गर्न सहज भएको छ,” भट्टराईले भने । उनका अनुसार टिम्बर कर्पोरेसनले चार महिना भित्र सबै रुख कटान गरेर व्यवस्थापन गर्ने भनेकाले रुख व्यवस्थापनसँगै पाइपलाइन बिच्छ्याउने काम अगाडि बढाउने उनको भनाइ छ ।
अहिले पथलैया जीतपुर देखि वीरगन्ज बाइपास सम्म १२ किलोमिटर पाइप बिच्छ्याउने काम सकिएको निगमले जानकारी दिएको छ । पाइपलाइन परियोजनाका लागि आवश्यक पर्ने सवै उपकरण आयात गरी पाइपलाइन बिच्छ्याउने काम तीब्ररूपमा अगाडि बढिरहेको निगमले जानकारी दिएको छ ।
कारोबारबाट





























प्रतिक्रिया