काठमाडौं
राष्ट्रिय सभा सदस्यको पदावधि छान्न सोमबार गोलाप्रथा गरिने भएको छ । संघीय संसद सचिवालयले गोलाप्रथाको प्रक्रियाका विषयमा जानकारी गराएको छ ।
संविधानको धारा ८६ अनुसार राष्ट्रिय सभाका ५९ सदस्यको कार्यावधि गोलाप्रथाद्वारा २, ४ र ६ मध्ये कति वर्ष हुने भन्ने टुंगो लगाउने व्यवस्था छ । गोलाप्रथाद्वारा सदस्यको पदावधि तोकिने हुँदा राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षकै पदावधि पनि सोमबार (आज) नै निर्धारण हुनेछ । राष्ट्रिय सभा सदस्यमा मनोनीतसँगै अर्थमन्त्री भएका डा. युवराज खतिवडा र गृहमन्त्री बनेका रामबहादुर थापाको मन्त्री पद समेत गोलामा नै निहित छ । खतिवडा र थापाले साँढे ११ बजे हुने गोलाप्रथामा भाग लिँदै कार्यकाल रोज्नेछन् ।
संघीय संसद सचिवालयले महासचिवको संयोजकत्वमा गोलाप्रथा सञ्चालन मूल समिति नै गठन गरेको छ । गोलाप्रथामा राष्ट्रिय सभा सदस्य आफैं उपस्थित हुनु पर्नेछ । उपस्थित हुन नसके अख्तियारी प्राप्त व्यक्ति वा त्यसो पनि हुन नसके महासचिवले तोकेको व्यक्तिले अनुपस्थित सदस्यका तर्फबाट गोला थुत्ने व्यवस्था छ ।
गोलाप्रथा छनोट गर्न सचिवालयले सेतो कागजमा रातो अक्षरमा दुई, चार र ६ वर्ष लेखेर चिट तयार पारेको छ । सो कागजलाई बट्टाभित्र बन्द गर्ने र यसपछि सांसदलाई झिक्न लगाई कार्यकाल निर्धारणको विधि तयार भएको छ । गोलाप्रथालाई पूर्ण विश्वनीय बनाउन सचिवालयले कार्यविधि नै तय गरेको छ ।
राजधानीबाट





























प्रतिक्रिया