यी हुन् बिजुली चोर्ने ३ वडाध्यक्ष

यी हुन् बिजुली चोर्ने ३ वडाध्यक्ष

केन्द्रबिन्दु
0
Shares

बिजुली चोरीमा संलग्न दुई वडाध्यक्ष पक्राउ परेका छन् । चोरी नियन्त्रणका लागि बिहीबार खटिएको नेपाल विद्युत प्राधिकरणको टोलीले काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नारायण लम्साल र सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामानन्द चौधरीलाई पक्राउ गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, गृह सचिव प्रेमकुमार राई, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललगायतको बुधबारको बैठकले विद्युत चोरी नियन्त्रणलाई परिणाममूखी रुपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो । यही आधारमा प्रत्येक जिल्ला प्रशासन कार्यालय र प्राधिकरणका शाखा कार्यालयले समन्वय गरी संयुक्त रुपमा चुहावट नियन्त्रणको कार्यायोजना बनाएर काम सुरु गरिसकेका छन् ।

सुरक्षाकर्मीसहित खटिएको प्राधिकरण काभ्रे वितरण केन्द्रकोे टोलीले वडाध्यक्ष लम्सालले कुन्ताबेंसीमा हुकिङ गरी कुखुरा फर्ममा विद्युत प्रयोग गरेको फेला पारेपछि पक्राउ गरेको थियो । पक्राउ गरी लम्साललाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको थियो । उनी ४१ हजार २ सय ८७ रुपैयाँ जरिवाना तिरी शुक्रबार रिहा भएका छन् ।

यसैगरी, राजविराज बितरण केन्द्रको टोलीले तिरहुत गाउँपालिका–५ का वडाध्यक्ष रामानन्द चौधरीले हुकिङ गरी घरमा विद्युत प्रयोग गरेको फेला पारेको थियो । टोलीले वडाध्यक्षसहित हुकिङ गर्ने २१ जनालाई पक्राउ गरेको थियो । वडाध्यक्ष चौधरी १५ हजार जरिवाना तिरी शुक्रबार छुटेका छन् ।

यस अघि वर्दियाको मधुवनी नगरपालिका–२ का वडाध्यक्ष पहाडी थारु पनि विद्युत चोरीमा पक्राउ परी जरिवाना तिरेर रिहा भएका थिए ।

Logo