काठमाडौं
२२ वटा भ्रातृ संस्थाहरू मिलाउन नेकपाले २२ वटा कार्यदल बनाएको छ । कार्यदललाई एकीकृत संगठनको विधान मस्यौदा गर्ने र महाधिवेशन आयोजक कमिटी गठन गर्न पदाधिकारी र सदस्यहरूको नामावली प्रस्ताव गर्न कार्यादेश दिइएको छ । कमिटी बनाउँदा वरिष्ठता, क्षमता र एकताको भावनालाई आधार बनाउनु पर्ने म्यान्डेट कार्यदललाई छ ।
तत्कालीन माओवादीको जनसंगठनहरूको केन्द्रीय कमिटीको आकार एमालेको तुलनामा आठ गुणासम्म ठूला छन् । एमालेको पेसागत महासंघको केन्द्रीय कमिटी ८६ सदस्यीय छ भने माओवादी पेसागत संगठनमा ८५० केन्द्रीय सदस्य छन् । अधिकांश अरू संगठनको केन्द्रीय समिति पनि ठूलो छ । एकीकरण गर्दा संख्यात्मक बाँडफाँडमा जटिलता देखिने सम्भावना छ ।
भ्रातृ संगठनसँग सम्बन्धित सबै कार्यदललाई नाम, नेतृत्व, संख्या लगायत विषय टुंगो लगाउने कार्यादेश दिइएको छ । कार्यदलले विवाद मिलाउन नसके पार्टीको केन्द्रीय सचिवालयले नै अन्तिम निर्णय गर्नेछ । रस्साकस्सी धेरै देखिएकाले जनसंगठनको नेतृत्वको विषय पनि अध्यक्षद्वयले नै अन्तिम टुंगो लगाउनु पर्ने अवस्था आउन सक्ने नेकपाका एक केन्द्रीय सचिवालय सदस्यले बताए । ‘सबै तलै टुंगो लगाउन भनिएको छ, नेतृत्वमा बढी प्रतिस्पर्धा देखिँदा कार्यदलमा सर्वसम्मत हुन सकेन भने अध्यक्षद्वयले नै छलफलबाट अन्तिम टुंगो लगाउनु हुन्छ,’ ती सदस्यले भने ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया