काठमाडौँ
काठमाडौँलाई भारतको सीमावर्ती सहर रक्सौलसँग जोड्ने गरी प्रस्ताव गरिएको रक्सौल–काठमाडौंँ रेलमार्ग निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु भएको छ । नेपालका रेल विभाग र भारतीय रेल्वेका कन्सलटेन्ट तथा इन्जिनियरहरूले शुक्रबार देखि प्रस्तावित रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरेका हुन् ।
रेल विभागका प्रवक्ता इन्जिनियर प्रकाशभक्त उपाध्यायले नेपाल र भारतका इन्जिनियरहरूको संयुक्त टोलीले शुक्रबार देखि रक्सौल–काठमाडौं रेलमार्ग निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरेको जानकारी दिए । उक्त प्रस्तावित रेलमार्गको सम्भाव्यता अध्ययनका लागि भारतीय रेल्वेका इन्जिनियरहरूको सात सदस्यीय टोली नेपाल आएको जानकारी दिंदै उनले सम्भाव्यता अध्ययनको समयसीमा नतोकिए पनि अबको ६ महिना भित्र सकिने लक्ष्य लिएको बताए ।
यो कार्य प्रारम्भसँगै रेलवे विभागले कम्पनी छनौट कार्य रद्द गरेको छ । यसअघि रेल्वे विभागले सम्भाव्यता अध्ययनका लागि कम्पनी छनौट प्रक्रिया सुरु गरी अन्तिम चरणमा पु¥याएको थियो । भारत सरकारको सम्पूर्ण खर्चमा सम्भाव्यता अध्ययन हुने भनिएको छ । सम्भाव्यता अध्ययनपछि यस रेलमार्ग निर्माणको लागि बृहत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको प्रक्रिया अगाडि बढाइने बताइएको छ ।
गोरखापत्रबाट





























प्रतिक्रिया