वीरगन्ज
तस्करी गरेर भारत लैजाँदै गरेको १८ सय किलो मरिच पर्सा प्रहरीले बरामद गरेको छ । जिल्लाको विन्ध्यवासिनी गाउँपालिका ४ अमरपट्टीबाट १ हजार ८ सय ७५ किलो मरिच बरामद गरेको हो । प्रहरीले ना ३ त २४३६ नम्बरको ट्याक्टरमा राखेर भारत लैजाँदै गरेको अवस्थामा मरिच बरामद गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले जानकारी दिए । बरामद गरिएको मरिच वीरगन्ज भन्सार कार्यालयमा पठाइएको उनले बताए ।
कन्टेनरमा जहाज मार्फत कलकत्ता हुँदै तेस्रो मुलुकबाट ल्याइने मरिच भारततिरै तस्करी हुने गरेको छ । प्रहरीले ट्याक्टर चालक भारतको बिहार बेतिया जिल्ला सिक्टा थाना अन्तर्गत पुरैनिया ७ बस्ने नन्दलाल यादवलाई समेत नियन्त्रणमा लिएको छ । बरामद गरिएको मरिच र चालकलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको छ । आइतबार प्रहरीले गरेको पत्रकार सम्मेलनमा वीरगन्ज महानगरपालिकाबाट ३० किलो मरिच र भन्सार छलेर ल्याएको अन्य सामान पनि बरामद गरेको जानकारी दिएको छ ।
यसैगरी वीरगन्ज महानगरपालिका १६ स्थित रजत जयन्ती चोकबाट भन्सार छली सामान ल्याउँदै गरेका दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका ६ राईगाउँ बस्ने २८ वर्षीय मीनराज पोखरेल, भारतको कलकत्ता परगाना २१ बस्ने ३२ वर्षका सुभाजित चटर्जी रहेका छन् ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया