काठमाडौं
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारको रहर नभई बाध्यता भएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर उनले इन्डियन आयल कर्पोरेशन र नेपाल आयल निगमबीच भएको सम्झौता अनुसार मूल्यवृद्धि भएको स्पष्टिकरण दिएका छन् ।
सन् २०१७ मार्च १८ मा अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएमा सो अनुसार मूल्य समायोजन गरिने दुई देशबीचको सो सहमतिमा उल्लेख छ । यता मुल्य समायोजनको नाममा सरकारले पटक पटक इन्धनको मुल्य वढाउँदा सर्वसाधारण मर्कामा परेका छन् । विभिन्न यातायात समितीहरु सवारीभाडा वढाउने तयारीमा छन् भने निजी हवाई कम्पनीहरुले भने मंगलबार देखि नै आन्तरिक तर्फको भाडा वढाइसकेका छन् । बजारमा पनि यसको प्रत्यक्ष असर देखा परिसकेको छ । बजारमा वस्तु मुल्यवृद्धिको मुख्य कारण इन्धनको मुल्यवृद्धि नै रहेकाले सरकारको यो निर्णय फिर्ता लिन विभिन्न विद्यार्थी संगठनहरुले माग गरेका छन् ।
यसैक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिई उपभोग्य वस्तुमा बढेको महँगी घटाउन सरकारसँग माग गरेको छ । मोर्चाका अध्यक्ष सिपी गजुरेलले एक विज्ञप्ति मार्फत ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा लगाउँदै आएको वर्तमान सरकारले पेट्रोलियम पदार्थमा ६ पटक मूल्यवृद्धि गरेको जनाएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको असरले चौतर्फीरुपमा बढेको महँगी नागरिकका लागि थेगी नसक्नु भएको भन्दै मोर्चाले उपभोग्य वस्तुमा बढेको महँगी घटाउन तुरुन्त कदम चाल्न सरकारसँग माग गरेको हो । यद्यपी वर्तमान सरकार गठनको ४ महिनामै इन्धनमा ६ पटक मुल्यवृद्धि गरिसके पनि अझै आयल निगमले आफू घाटामै रहेको बताउँदै आएको छ । यसर्थ इन्धनको मुल्य अझै वढ्न सक्ने देखिएकाले नागरिक थप समस्यामा पर्ने निश्चित छ । पछिल्लो मुल्य अनुशार पेट्रोलको ११३, डिजेल र मट्टितेलको ९५ रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने ग्याँसको १ हजार ३७५ प्रति सिलिण्डर कायम गरिएको छ ।





























प्रतिक्रिया