काठमाडौं
द्वन्द्वग्रस्त मुलुक कंगोमा फैलिएको प्राणघातक इबोला संक्रमित व्यक्ति नेपालमा आइहालेमा रोग नियन्त्रण गर्न समस्या पर्ने देखिएको छ । कंगोमा पछिल्लो समय गैरसरकारी संस्थामा काम गर्ने तथा शान्ति स्थापनाका लागि गएका नेपाली सेनाको संख्या उल्लेख्य छ । जसका कारण इबोलाको उच्च जोखिममा नेपाल पनि रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कर्मचारी बताउँछन् ।
‘संक्रमित व्यक्ति नै आइहाले वा रोग फैलिहालेमा नियन्त्रण गर्ने क्षमता हामीसँग छैन,’ महाशाखाका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले भने । इबोला लागेको शंकास्पद व्यक्ति आएमा आइसोलेसनमा राख्न नेपालका कुनै पनि अस्पतालसँग क्षमता नरहेको उनले बताए ।
सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई इबोला रोगको उपचार गर्ने ठाउँ तोकेको छ । तर सो अस्पतालमा त्यस्ता विरामी पठाउन नमिल्ने सेन्चुरीले बताए । ‘त्यत्रो भिड हुने अस्पतालमा इबोला रोगी पठाए अन्यमा सर्ने जोखिम हुन्छ । त्यसैले पठाउनै मिल्दैन,’ उनले भने । इबोला लागेको शंका लागेको व्यक्तिलाई बस्ती भन्दा टाढा रोगको इन्क्युवेसन पिरडसम्म क्वारेन्टाइनमा राख्नुपर्ने उनले बताए ।
सन् २०१४ मा लाइबेरिया, गिनिया, माली, नाइजेरिया लगायतका मुलुकमा इबोला महामारी हुँदा नेपाली सेनाले ती मुलुकबाट फर्कने सैनिकलाई एयरपोर्टबाटै ककनीमा लगेर छुट्टै क्वारेन्टाइनमा राखेको थियो । त्यहाँ एक महिना राखेपछि मात्र घर जान र परिवार भेट्न दिएको थियो ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया