काठमाडौं
सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम माथि बुधबार देखि सैद्धान्तिक छलफल शुरु भएको छ । प्रतिनिधिसभाको बैठकमा हिजो देखि शुरु भएको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टीका विष्णुप्रसाद पौडेलले नीति तथा कार्यक्रमले राष्ट्रिय स्वाधीनताको विषयलाई प्राथमिकताका साथ अघि सारेकामा प्रशंसा गर्दै कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकूद, ऊर्जा, रेलमार्ग लगायत क्षेत्र समेटिएको बताए ।
उनले नीति तथा कार्यक्रमले संविधानको कार्यान्वयन गर्न र संविधानका मौलिक हकलाई व्यवहारमा उतार्न सफल हुने अपेक्षा गर्दै यसको प्रभावकारी कार्यान्वयन गरेर सरकारले लिएको लक्ष्य हासिल हुने विश्वास व्यक्त गरे ।
नेपाली काँग्रेसका भरतकुमार शाहले नीति तथा कार्यक्रममा प्रदेश अधिकारको बाँडफाँट सम्बन्धमा ठोस आधार नआएको भन्दै दोहोरो अंकको आर्थिक उपलब्धि गर्न पनि आधार केही नदेखिएको टिप्पणी गरे । नीति तथा कार्यक्रममा कृषि र सिँचाइका क्षेत्रमा सुधार गर्ने भनिए पनि त्यसको कुनै आधार नभएको उल्लेख गर्दै पाँच वर्षपछि रोजगारीका लागि विदेश जानु पर्दैन भन्ने आधार के छ भन्ने प्रश्न गरे ।
काँग्रेसकै मोहम्मद अफताव आलमले मजदूरका लागि छुट्टै अस्पताल बनाउने प्रस्ताव नीति तथा कार्यक्रममा राख्नु पर्ने माग गरे । नेकपाका कमला रोकाले नीति तथा कार्यक्रम सकारात्मक हुँदा हुँदै पनि विकटक्षेत्रका जनताका आकांक्षा समेट्न नसकेको उल्लेख गर्दै बजेट आउँदा सम्ममा उक्त विषय समेटिने अपेक्षा गरे । सांसद रोकाले युद्ध पर्यटनलाई बढावा दिने नीति ल्याउनु पर्ने धारणा व्यक्त गरे ।
नेकपाकै नारदमुनि रानाले रोजगारीका अवसर सिर्जना गर्ने आधार उल्लेख गरेकाले युवा वर्गबाट प्रशंसा भएको बताए । सोही दलका हृदयेश त्रिपाठीले विकास खर्च गर्ने चुनौतीतर्फ सरकारले ध्यान दिनुपर्ने बताउँदै नीति तथा कार्यक्रममा मुक्तकमैया, कमलरी, भूमिहीन लगायत विषय समावेश गर्न सुझाव दिए । संविधानमा रहेको त्रुटि सच्याउन र संविधानको प्रभावकारी कार्यान्वयनका लागि संविधान संशोधनको आवश्यकता रहेकामा सांसद त्रिपाठीले जोड दिए ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया