गृहमन्त्रीको निशानामा थप ५ सिन्डिकेट

गृहमन्त्रीको निशानामा थप ५ सिन्डिकेट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अहिले चर्चामा छन् । सुन तस्करीको जालोलाई भत्काए गृहमन्त्रीले सिन्डिकेटलाई तह लगाएरै छाडे ।
सुन तस्करी र सिन्डिकेटलाई ठीक ठाउँमा ल्याउँदै गर्दा गृहमन्त्री थापाले थप नयाँ क्षेत्रको खोजी सुरु गरेका छन् । दुवै प्रकरण ट्रयाकमा आएलगत्तै नयाँ क्षेत्रमा कदम चाल्ने उनको योजना छ ।

गृहमन्त्रीले ताकेका नयाँ सिन्डिकेट यी हुन्

स्वास्थ्य
स्वास्थ्य क्षेत्र सबैभन्दा बदनाम क्षेत्र हो । स्वास्थ्यमा हुने कुकृत्य सहनै नसक्ने खालका छन् । अधिकांश फार्मेसी, क्लिनिक दर्ता्बिनै सञ्चालित छन् भने केही दर्ता गरे पनि नवीकरण भएका छनन् । फार्मेसीहरूले म्याद नाघेका औषधिहरू बिक्री गर्ने गरेका छन् भने केही ठूला अस्पतालले सेवा शुल्कका नाममा उपभोक्ता ठगिरहेका पनि छन् ।

शिक्षा
केही वर्ष अगाडि एउटा प्रतिवेदन आएको थियो । त्यो प्रतिवेदनले नेपालको शिक्षा व्यवस्थापनमा आन्तरिक करको जोहो गर्नसके विदेशी दातृराष्ट्रले दिने रकमभन्दा पनि बढी रकम उठ्नसक्ने उल्लेख गरेको छ । धेरै करका उपायहरू त्यसमा समेटिएका छन्, जसमध्ये निजी शिक्षण संस्थामा अध्ययन गर्ने विद्यार्थी संख्याका आधारमा प्रतिविद्यार्थी वार्षिक २०० देखि ५०० सम्म उठाउन सकिने कुरा पनि उल्लेख छ । निजी विद्यालय तथा कलेजको मनपरी थामिनसक्नु छ । गृहमन्त्रीले शिक्षा क्षेत्रको बेथिति, सिन्डिकेट र कार्टेलिङ तोड्ने जनाउ दिएका छन् ।

जग्गा दलाल
घर जग्गा व्यवसायमा दलालहरु किराकै रुपमा देखिएका छन् । गृहमन्त्रीले त आफ्नो घर जग्गा बेच्न पनि दलालको अनुमति माग्नुपर्ने नियती चिन्ताजनक भएको बताएका छन् । जग्गामा हुने दलाली अन्त्य गर्न नीतिगत योजना बनाउने उनको तयारी छ ।

बैंकिङ क्षेत्र
नेपालको बैंकिङ माफिया निकै दह्रो छ । ठूला औद्योगिक र व्यापारिक घराना, सामन्तहरु, राजनीतिक तहका नेताहरु र नीति निर्माणको तहमा रहेका उच्चपदस्थ कर्मचारीहरु बैंकका दूतजस्तै बनेका छन् । गृहमन्त्रीको सिन्डिकेट यात्रामा बैंकिङ क्षेत्र पनि निशानामा परेको छ ।

लागू औषध
लागू औषध दुव्र्यसनमा हुने सिन्डिकेटबारे गृहमन्त्रीले अध्ययन गरिरहेका छन् । ठूलो गिरोह नै यसमा संलग्न भएको अनुमान उनको छ । गृहमन्त्रीले आइतबार नै जनपद र सशस्त्र प्रहरी प्रमुखलाई बोलाएर लागू औषधको विषयमा गतिलो तयारी गर्न निर्देशन दिएका छन् ।

Logo