जनकपुरधाम
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको क्रममा वैशाख २८ गते भारतबाट हेलिकोप्टर चढेर सोझै जनकपुर अवतरण गर्ने कार्यतालिका बनेको छ । जनकपुरस्थित जानकी मन्दिर र त्यसपछि मुक्तिनाथ मन्दिरमा पुगेर दर्शनगरी काठमाडौं पुग्ने मोदीको भ्रमण तालिका निर्धारण भएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।
मोदी भ्रमणको लागि भइरहेको पूर्व तयारीको स्थलगत अनुगमन गर्न मंगलबार जनकपुर आएका गृहमन्त्री थापाले स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा मोदीको भ्रमण रुटवारे खुलाएका हुन् । भारत, विहारको राजधानी पटनाबाट हेलिकोप्टर चढेर मोदी जनकपुर आउने कार्यक्रम तय भएको उनले बताए ।
‘भारतीय प्रधानमन्त्रीले जानकी मन्दिर र मुक्तिनाथ मन्दिरको दर्शन गर्ने योजना पुरानै हो । त्यसबेला केही प्राविधिक कठिनाइको कारण त्यो सम्भव हुन नसकेपछि यतिबेला धार्मिक भ्रमणको रुपमा उहाँको आगमन हुँदैछ’ जिल्ला प्रहरी कार्यालय, धनुषामा सञ्चारकर्मीसँग मन्त्री थापाले भने, ‘यस पटक हुन लागेको मोदीको भ्रमण नितान्त धार्मिक यात्राको रुपमा हुँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गरेपछि दुई देशबीचको सम्बन्ध थप मजबुत भएको सन्देश दिन पनि भारतीय प्रधानमन्त्री मोदीको यो धार्मिक भ्रमण अर्थपूर्ण हुने थापाले विश्वास व्यक्त गरे । जनकपुरस्थित रंगभूमि मैदान बाह्रविघामा हेलिकोप्टर अवतरणपछि मोदीले त्यहाँबाट करिब आधा किलोमिटर दुरीमा रहेको जानकी मन्दिर पुगेर पूजापाठ गर्नेछन् ।
मुख्यमन्त्रीको नेतृत्वमा स्वागत समारोह मूल समिति गठन गरिएको छ भने अन्य मन्त्रीहरु पनि विभिन्न तयारीको जिम्मेवारीमा क्रियाशिल छन् । भ्रमण तयारीवारे स्थानीय सरोकारवाला पक्षहरुसँग समन्वय गर्न जनकपुर उपमहानगर पालिकाले बुधबार दिउँसो सर्वपक्षीय बैठक आह्वान गरेको छ । मुख्यमन्त्री राउतले बाह्रविघा मैदानमा पानी जमेको भागमा माटो र ग्राभेल पुर्न सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयलाई निर्देशन दिएका छन् ।
नागरिकबाट





























प्रतिक्रिया