काठमाडौँ
गुठी संस्थानले आफ्नो स्वामित्वमा रहेको सुन्धारास्थित ९ आना १ पैसा जग्गामा सटर बनाउन ठेक्का लगायो । अमात्य सप्लायर्सको टेन्डर स्वीकृत भएर जग खन्न सुरु पनि गर्यो । गुठीको जग्गा पछाडि रहेका व्यापारी सटर निर्माणको विरोधमा उत्रिए । गुठीको जग्गा पछाडि रहेका व्यापारीका सटर छेकिएकाले स्थानीयलाई उचालेर व्यापारी विरोधमा उत्रिएका हुन् । विरोधबाट केही नलागेपछि उनीहरूले महानगरपालिकालाई पनि गुहारे । संरचना निर्माण सुरु भएपछि स्थानीयको विरोधको निहुँ बनाउँदै महानगरपालिकाले निर्माण रोक्न गुठीलाई निर्देशन दियो।
सुन्धाराको उक्त जग्गा गुठीले जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च सम्म मुद्दा लडेर पुर्जा प्राप्त गरेको छ । सुन्धाराको उक्त जग्गामा गुठीले सटर बनाउन खोज्दा स्थानीयको विरोध भन्दै महानगरपालिकाले संरचना बनाउन रोक लगाएको छ । वसन्तपुरस्थित सिंह सत्तलको ‘ठिक’ (सटर) को भाडा लगाउन समेत महानगरले रोकेको छ । आफ्नो स्वामित्वमा रहेका सिंह सत्तलका २९ वटा सटर लामो समय देखि गुठीले भाडामा लगाउँदै आएको छ । उता महांकाल मन्दिर प्रांगणको गुठी जग्गामा महानगरले पार्किङ बनाएर शुल्क उठाएको छ ।
यी त केही प्रतिनिधिमूलक घटना मात्र हुन् । गुठीको जग्गा र भौतिक संरचनामा स्वामित्वको विषयमा महानगर र गुठीबीच धेरै ठाउँमा विवाद छ । गुठीलाई आफ्नै जग्गा उपभोग गर्न समेत अवरोध गरिएको गुठी संस्थान काठमाडौंका प्रमुख वैकुण्ठप्रसाद रेग्मी बताउँछन् । उनी काठमाडौंका विभिन्न स्थानका गुठी जग्गामा अरूले नै रजाइँ गरिरहेको दुखेसो गर्छन् । ‘हामी संरचना बनाउन खोज्छौं, नगरपालिकाले रोकिदिन्छ । आफ्नै संरचनामा सधैं लगाइरहेको ठाउँमा भाडा लगाउन सूचना जारी गर्छौं, त्यहाँ पनि नगरपालिकाले दिँदैन’, उनी भन्छन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया