काठमाडौँ
नेपाली काँग्रेसकोे महासमितिको बैठक आगामी भदौमा हुने भएको छ । नेपाली काँग्रेस केन्द्रीय समितिको भन्डै एक महिना लामो बैठक आइतबार सम्पन्न गर्दै जिल्ला सभापति भेला एवं गाउँ र नगरपालिका तह सम्मको पार्टीको सांगठनिक संरचना तथा भातृ र शुभेच्छुक संस्थाहरु मार्फत राय सुझाव संकलन गरी पार्टीको विधानलाई आवश्यक परिमार्जन एवं संशोधन लगायत कार्यको तयारी गरी महासमितिको बैठक आयोजना गर्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकले जिल्ला सभापति भेला आगामी जेठ अन्तिम सातामा आयोजना गर्ने निर्णय गरेको छ । बैठकले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन सम्पन्न गर्न सफल भएकामा सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र उनको नेतृत्वको सरकारलाई धन्यवाद समेत व्यक्त गरेको छ ।
बैठकले स्वतन्त्र न्यायपालिका तथा अन्य संवैधानिक अंगहरुको अधिकार माथि अतिक्रमण गर्ने वर्तमान सरकारको कार्यशैली प्रति बैठकले आपत्ति जनाएको छ । संविधानले निर्धारण गरेको सीमा भित्र बसेर सरकारले गर्ने काममा रचनात्मक प्रतिपक्षको रुपमा सरकारलाई सहयोग गर्ने बताउँदै बैठकले कुनै पनि बहानामा संविधानको मर्म, भावना र व्यवस्था विपरीत राज्यका अंग र निकायको अधिकार केन्द्रीकृत गर्ने सरकारको कार्य स्वीकार्य नुहुने बताएको छ ।
तीनै तहका सरकारले संविधान प्रदत्त अधिकार बमोजिम जनताको सेवामा सहजरुपमा कार्य सञ्चालन गर्न सक्ने, संवैधानिक सर्वोच्चता तथा स्वतन्त्र न्यायपालिका र वाक तथा प्रेस स्वतन्त्रता पूर्णरुपमा प्रत्याभूत हुने वातावरण सुनिश्चित गर्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।
निर्वाचन अघि विजयकुमार गच्छदारले नेतृत्व गरेको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग एकता गर्दा भएको सहमति अनुरुप तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सक्रिय सदस्यहरुलाई नेपाली काँग्रेसको क्रियाशील सदस्यता प्रदान गर्ने र समायोजनका बाँकी कार्यलाई एक महिनाभित्र पूरा गर्ने बैठकले निर्णय गरेको छ ।
रासस





























प्रतिक्रिया