खोटाङ
जिल्ला प्रशासन कार्यालय खोटाङले दिप्रुङ गाउँपालिकाका चार सय भन्दा बढी नागरिकलार्ई गाउँमै गएर नागरिकता वितरण गरेको छ । बिहीबार दिप्रुङ गाउँपालिका–२ डाँडागाउँमा, शुक्रबार दिप्रुङ गाउँपालिका–५ सछितापोखरीमा र शनिबार दिप्रुङ गाउँपालिका–४ बतासेमा घुम्ती शिविर सञ्चालन गरेर प्रशासनले चार सय ४४ जनालाई नागरिकता प्रदान गरेको हो ।
घुम्ती शिविरको अन्तिम दिन बतासेमा शनिबार राति ८ बजे सम्म नागरिकता प्रदान गरिएको प्रशासनले जनाएको छ । डाँडागाउँमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरको अवसर पारेर तीन ठाउँमा घुम्ती शिविर सञ्चालन गरेको टोली आइतबार बिहान ४ बजे सदरमुकाम आइपुगेको छ । घुम्ती शिविर मार्फत महिला तथा बालबालिका कार्यालयले ६४ जना अपांगता भएकालाई अपांगता परिचयपत्र वितरण गरेको छ । उनीहरूमध्ये २२ जनालाई पूर्ण अशक्त, २० जनालाई अशक्त र अन्य २२ जनालाई विभिन्न वर्गको परिचयपत्र वितरण गरिएको हो । यस्तै मालपोत कार्यालयले पनि १३ जनालाई जग्गा सम्बन्धी सेवा प्रदान गरेको जनाएको छ ।
यसअघि प्रशासनले बराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा घुम्ती शिविर सञ्चालन गरेर सेवा प्रदान गरेको थियो । प्रशासनले पुनः ऐसेलुखर्क गाउँपालिकामा घुम्ती शिविर सञ्चालन गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जानकारी दिएका छन् ।
नागरिकबाट





























प्रतिक्रिया