काठमाडौँ
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बससँगै अब ट्याक्सीको समेत सिण्डिकेट तोड्ने उद्घोष गरेका छन् । ‘बसको त सिण्डिकेट धेरै पहिले नै खारेज गरेको हो, हामीले नौलो काम गरेकै होइन, हामीले त कार्यान्वयन गराएका हौँ, सम्मानित सर्वोच्च अदालतले आज भन्दा १८ वर्ष पहिले नै सिण्डिकेट खारेजको निर्देशन दिएको हो’, सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने, ‘हामीले कार्यान्वयन गरेका छौँ, अब मिनिबस र ट्याक्सीमा पनि सिण्डिकेट खारेजी गरेर कम्पनी ऐन अन्र्तगर्त व्यवस्थित गर्छौँ ।’
साक्षात्कारमा उनले पर्यटक र आम सर्वसाधारण जनताले निर्धक्क भएर सुविधाजनक यात्रा गर्न पाउनु पर्ने बताउँदै उनले सरकार त्यही अनुसार अघि बढिरहेको स्पष्ट पारे । उनले भने, ‘विकृति र विसंगतिका विरुद्ध हाम्रो प्रयास हो, हामी सफल भएर छाड्छौँ, अन्तिममा आएर बस व्यवसायीहरुले पनि आन्दोलन फिर्ता गरेर हामीलाई सहयोग गर्नु हुन्छ ।’
‘अहिले नेपालमा कतै सिण्डिकेट छैन । पहिला थियो । तर यो सरकारले सिण्डिकेट खारेजी गरिदिएको छ । आजको दिनमा हामीले सिण्डिकेट प्रणाली खारेज गरिसकेका छौँ’, सिण्डिकेटको अन्त्य अहिले नभएर धेरै पहिल्यै भैसकेको जनाउँदै उनले भने, ‘मात्रै उहाँहरूलाई नवीकरण गर्ने सवालमा कम्पनी ऐनमा आउन हामीले यो असार मसान्त सम्म समय दिएका छौँ । कम्पनी दर्ता गर्न समय चाहिन्छ ।’
उनले तीन महिना भित्रै कम्पनी ऐन अन्तर्गत व्यवसायीहरू नआए आफूहरूले बाध्य भएर बैकल्पिक व्यवस्था अपनाउने चेतावनी दिए । महासेठले भने, ‘सरकार आफैँ बस सञ्चालन गरेर व्यवसाय गर्ने पक्षमा छैन, यदि उहाँहरूले आम हड्ताल फिर्ता लिनु हुन्न भने हामी बाध्य भएर बैकल्पिक व्यवस्थाबारे सोच्छौँ, हामी पर्यो भने नयाँ बस ल्याउन सक्छौँ ।’
अन्नपूर्णबाट





























प्रतिक्रिया