मोरङ
सुन्दरहरैंचा नगरपालिका–५ स्थित मुसहर बस्तीमा २० वर्षीय अनित ऋषिदेव ८ कक्षा उत्तीर्ण एक्लो युवा हुन् । ८ कक्षा उत्तीर्ण भएपछि उनी विद्यालय जान पाएनन् । पढ्न छाडेकै पाँच वर्ष भयो । परिवारको आर्थिक अवस्था कमजोर भएपछि पढाइ छाड्न बाध्य भएको उनले सुनाए । उनी पढाइ छाडेर मजदुरी गर्दै परिवारका सदस्यको आडभरोसा बन्नुपर्यो ।
‘पढ्न मन हुँदाहुँदै पारिवारिक समस्याले अघि बढ्न सकिनँ’, उनले भने, ‘वृद्ध बुवाआमा र परिवार पाल्नु पर्ने जिम्मेवारी मेरै काँधमा थियो । मजदुरी गर्नुपर्ने अवस्था आइपर्यो।’ पढाइ छाडेर अर्काको ट्र्याक्टरमा मजदुरी गर्न थालेको उनले बताए।
चेतना अभाव र आर्थिक समस्याले गर्दा मुसहर बस्तीले अहिलेसम्म ८ कक्षा उत्तीर्ण एक जनाभन्दा धेरै पाउन सकेको छैन । विद्यालय भर्ना अभियान चलिरहे पनि ५५ परिवारको बसोबास रहेको यो सुकुम्बासी मुसहर बस्तीमा यसको प्रभाव छैन । ‘पछिल्लो भर्ना अभियान पनि बस्तीसँग जोडिन सकेको छैन’, स्थानीय घनश्याम घले गुरुङले भने, ‘यसअघि अभियान चलाउँदा बालबालिकालाई विद्यालयसम्म पुर्याइए पनि धेरैले पढाइ छाडे। किन छाडे भन्नेबारे अनुगमन समेत हुन सकेन।’ पढाइमा के कुराले बाधा परेको छ र किन विद्यालय जान पाउँदैनन् भन्ने अध्ययन नभएको उनले बताए।
यो बस्तीमा १६ वर्षमुनिका ५० बालबालिका छन् । अधिकांशले कक्षा ५ सम्म पनि पढेका छैनन् । उनीहरू ४ कक्षामा पढ्दै गर्दा मजदुरी गर्न जाने गरेका छन् । बस्ती नजिकै श्रीलाल र बुद्ध आधारभूत विद्यालय छन् । १० मिनेट पैदल हिँड्दा ज्योति मावि पुगिन्छ । यी विद्यालयमा एक जना भन्दा बढी मुसहर बालबालिकाले ५ कक्षा उत्तीर्ण गरेको तथ्यांक छैन ।
मोरङका जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले गरिबी सम्बोधन हुने कार्यक्रम सञ्चालन गरी बालबालिका नियमित विद्यालय जाने वातावरण बनाइने बताए । उनले भने ‘यसका लागि सामुदायिक अध्ययन केन्द्रसँग समन्वय गरी विद्यालय भर्नासँगै बीचमै पढाइ छाड्न नदिने कार्यक्रम ल्याउने अवस्थाको सिर्जना गरिनेछ ।’
अन्नपूर्णबाट





























प्रतिक्रिया