अछाम
नयाँ वर्षको सुरुआतसँगै वर्षको पहिलो दिन राम्रो कामको सुरुवात गरे वर्षभरि नै राम्रो र शुभ हुने मान्यता पाइन्छ । तर सुदूरपश्चिमका जिल्लामा भने नयाँ वर्ष सिस्नो लगाएर मनाउने गरिएको छ । नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने प्रचलन प्रदेश नम्बर ७ का पहाडी जिल्लामा छ । पहाडी जिल्ला अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा र बैतडीमा वैशाख १ गते धुमधामले बिसु पर्व मनाइन्छ ।
गत वैशाख १ गते मंगलसेनकी कविता विक एकछिन पनि ढुक्कले बस्न पाइनन् । देवरहरुले लगाइदिएको सिस्नोका कारण उनको शरीर पूरै निदाए जस्तै भयो । बिहान सबेरै उठ्ने बित्तिकै धारामा नुहाउन जाँदा देखि देवरले लगाइदिएको सिस्नोको पोलाइ सहन थालेकी कविताले ढोका थुनेर खाना खान खोज्दा पनि राम्रोसँग खान पाइनन् । खाना खान लाग्दा एकजना देवर झ्यालबाट छिरेर सिस्नो लगाउन खोजेपछि खाना समेत राम्ररी खान नपाएको उनले सुनाइन् ।
‘देवरहरुको संख्या धेरै छ, म एक्लै परें । शरीर पूरै निदाउने गरी सिस्नो लगाए,’ कविताले भनिन्, ‘बिसु तिहार आउँदा त दुई तीन दिन अघि देखि नै चिन्ता लाग्न थाल्छ ।’ कविता मात्र होइन, उनको गाउँका अधिकांश महिला नयाँ वर्षको पहिलो दिन एकआपसमा सिस्नो लगाउन र प्रतिकार गर्न व्यस्त हुन्छन् । जसका बढी देवर, नन्द हुन्छन् ती महिलाले सिस्नोको मार बढी खेप्नुपर्छ ।
सिस्नो लगाउने परम्परा पहिले देखिकै हो । यस अवसरमा देवर–भाउजू, नन्द–भाउजू, साली–भिनाजुले एक–आपसमा पानीमा भिजाएको सिस्नोले हान्ने गरिन्छ । यसरी सिस्नु लगाउँदा शरीरमा भएको घाउखटिरा लगायत छाला सम्बन्धी रोग निको हुने जनविश्वास रहेको मेल्लेख ७ की जानकी रावल बताउँछिन् । जानकीकोे बुझाइमा बिसु तिहारको दिन सिस्नो लगाउनु छालाको रोगका लागि अनिवार्य हुन्छ । देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारका दिन आफैंले आफैंलाई भए पनि सिस्नो लगाउनु पर्ने मान्यता रहेको जानकीले सुनाइन् । बिसु तिहारमा महिलाले पुतला नाच खेल्ने तथा पुरुषले बिसु बाघ बनाएर दौडाउने चलन पनि छ ।
नागरिकबाट





























प्रतिक्रिया