नयाँदिल्ली
अन्तिम मस्यौदा प्रतिवेदनमा पुनः छलफल गर्ने र जेठ १८, १९ र २० गते काठमाडौंमा तीन दिने बैठक बस्ने सहमति सहित नेपाल भारत प्रबुद्ध व्यक्ति समूहको आठौं बैठक सम्पन्न भएको छ । नयाँदिल्लीको इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिस भवनमा बसेको आठौं बैठकले नवौं बैठकको मिति तय गरेको हो । तीन दिने बैठक बस्न लागेको पहिलो पटक हो। नवौं बैठकलाई सके सम्म अन्तिम बनाउने प्रयास स्वरूप एक दिन थप गरेको नेपाली पक्षले जानकारी दिएको छ ।
बिहीबार र शुक्रबार बसेको बैठकमा नेपाली र भारतीय दुवै पक्षले आआफ्ना धारणा सहितको मस्यौदा प्रतिवेदन आगामी बैठकमा अन्तिम छलफल गर्ने गरी बुझाएका छन् । ‘हामीले आफ्नोतर्फको धारणा सहितको प्रतिवेदनको अन्तिम मस्यौदा भारतीय पक्षलाई बुझाएका छौं । भारतीय पक्षबाट हामीले त्यस्तै मस्यौदा बुझेका छौं । आगामी बैठकमा त्यसमा दुवै तर्फबाट लगभग अन्तिम छलफल हुनेछ’, नेपाली पक्षका संयोजक डा.भेषबहादुर थापाले भने ।
नेपाली पक्षले बुझाएको मस्यौदामा पहिलो प्राथमिकता १९५० को शान्ति तथा मैत्रीपूर्ण सन्धिको आगामी स्वरुप रहेको छ । त्यसपछि द्विपक्षीय मुद्दामा अन्य विषय राखिएको छ । सीमादेखि लिएर राष्ट्रिय सुरक्षा, व्यापार तथा पारवहन, जलसंसाधन लगायत मुद्दा नेपाली पक्षले बुझाएको मस्यौदामा परेको छ ।
‘सन्धिलाई समयानुकूल परिमार्जन गर्ने, नयाँ रूपमा बनाउने कुरामा सुझाव राख्न दुवै पक्ष सहमत छौं, एउटै प्रतिवेदन बनाउने प्रक्रियाका लागि यो बैठकले बाटो खोलेको छ’, थापाले भने । सन्धि पुनरवलोकन, संशोधन वा खारेजीको कुरा अन्तिम बैठकमा मात्र टुंगो लाग्ने उनले स्पष्ट पारे । ‘द्विपक्षीय मुद्दामा लगभग सबै असमान कुराबारे विगतका बैठकमा छलफल भइसकेको छ । अब नयाँ विषयको खोजी होइन, समाधानको खोजी प्रक्रियामा छौं,’ थापाले स्पष्ट पारे । काठमाडौं फर्किएपछि मस्यौदा अध्ययनका लागि विभिन्न स्टेकहोल्डरसँग छलफल गर्ने उनले बताए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया