काठमाडौं
सरकारमा सामेल हुने औपचारिक निर्णय गरिसकेको संघीय समाजवादी फोरम नेपाल सत्ताको प्रमुख घटक एमालेको कार्यशैलीबाट सशंकित भएको छ । एमालेका कारण सरकारमा सहभागी हुन ढिलाई भएका फोरमका नेताहरूले जनाएका छन् । संविधान संशोधनका लागि लिखित सहमति गर्न सरकारले आलटाल गरेको भन्दै फोरमका नेताहरूले एमाले प्रति असन्तुष्टी जनाएका हुन् ।
संविधान संशोधनमा सरकारको लिखित प्रतिबद्धता नआए सम्म पार्टी सरकारमा नजाने फोरमका नेताहरूले प्रष्ट पारेका छन् । एमालेकै कारण पार्टी सरकारमा जान अड्किएको उनीहरूको भनार्इ छ । फोरम अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण फोरम सरकारमा सहभागी हुन नसकेको बताए । उनले भने, ‘सरकारमा लैजाने विषयलाई केपी ओलीले अड्काउनु भएको छ ।’ सरकारमा जान पार्टीलाई हतार नभएको पनि उनले प्रस्ट्याए ।
उनले भने, ‘लिखित सहमति नभए सम्म सरकारमा जान्नौं ।’ फोरमले प्रधानमन्त्री निर्वाचनमा केपी ओलीको पक्षमा मतदान गरेको थियो । ‘हामीले प्रधानमन्त्री बन्नका लागि उहाँ (ओली) लाई भोट दियौं । सरकारको पक्षमा दुई तिहाइ पुर्यायौं । हामी सरकारमा जाने नजाने अब उहाँको हातमा छ,’ अध्यक्ष यादवले भने । फोरमका नेता अशोक राईले पनि घुमाउरो पारामा प्रधानमन्त्री ओली पूर्वप्रतिबद्धता अनुरूप अघि नबढेको बताए । उनले भने, ‘प्रधानमन्त्री भारतबाट फर्केपछि संविधान संशोधनका विषयमा सरकारसँग लिखित सहमति गरेर हामी सरकारमा जाने कुरा थियो । तर प्रधानमन्त्री भारतबाट फर्केको यतिका दिन भइसक्दा पनि सरकारसँग वार्ता हुन सकेको छैन।’ वार्ताका लागि सरकारले आफूहरूलाई नबोलाएको पनि उनले बताए । उनले भारत भ्रमण अघि भने प्रधानमन्त्रीसँग अनौपचारिक सम्पर्क भएको जनाए ।
नागरिकबाट





























प्रतिक्रिया