काठमाडौँ
मुलुकका सबै महानगर र उपमहानगर क्षेत्रमा वातावरणमैत्री हरियो स्टिकर सहितका सवारीलाई मात्र गुड्न इजाजत दिने तयारी गरिएको छ । आगामी साउन पहिलो साता देखि यस्तो व्यवस्था अनिवार्य गर्न लागिएको हो । महानगर र उपमहानगरमा मोटरसाइकल बाहेक सबै सवारी परीक्षण गर्दै हरियो स्टिकर अनिवार्य गर्ने तयारी गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
प्रदूषण बढाउने धेरै कारण मध्ये सवारी पनि मुख्य कारकका रूपमा रहेको पुष्टि भएकाले प्रदूषण न्यूनीकरण गर्न यस्तो तयारी अघि बढाइएको विभागका निर्देशक प्रेमकुमार सिंहले जानकारी दिए । ‘भएको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तयारी गरिएको हो, सवारी प्रदूषण परीक्षणका लागि पर्याप्त उपकरण नभएकाले थप ४० वटा उपकरण ल्याउने तयारी गरिएको छ ।’ –उनले भने ।
सिंहका अनुसार २० वटा ग्याँस एनालाइजर (पेट्रोलबाट गुड्ने सवारी) र स्मोक एनालाइजर (डिजेलबाट गुड्ने सवारीको) गुणस्तर परीक्षण गर्ने उपकरण जेठ पहिलो साता भित्र जापानबाट ल्याइँदै छ । उपत्यकाको वायुमा पीएम १ र २.५ माइक्रोन भन्दा सुक्ष्म धूलोको मात्रा बढ्दो रूपमा रहेको र सुक्ष्म कण सवारीसाधनका कारण फैलिने गरेको वातावरण विभागको ठहर छ । उपत्यकाको प्रदूषणमा गाडीको धुवाँको मात्रा ३० देखि ३३ प्रतिशतको हाराहारीमा रहेको र त्यति नै मात्रामा सवारीले सडकको धुलो फैलाउने गरेको विभागका सिनियर केमिस्ट शंकरप्रसाद पौडेलले बताए । ‘सवारीको धुँवा, सवारीले उडाउने धुलो, सडक विस्तार र अन्य पूर्वाधारका कारण उपत्यकामा ६० देखि ६५ प्रतिशतका हाराहारीमा प्रदूषण रहने गरेको अध्ययनले देखाएको छ ।’
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया