काठमाडौँ
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाद्वारा प्रकाशित ‘स्थानीय राजपत्र’ आज सार्वजनिक गरे। गत पुस २४ गते प्रमाणीकरण भएको स्थानीय राजपत्र प्रकाशन कार्यविधि बमोजिम प्रकाशित राजपत्रको उनले सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको राजपत्रमा नगरसभा सञ्चालन कार्यविधि ०७४, काठमाडौँ महानगरपालिकाको आव ०७४/७५ को नीति तथा कार्यक्रम, स्थानीय राजपत्र प्रकाशन कार्यविधि ०७४, काठमाडौँ महानगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन, ०७४, कार्यपालिका अन्तर्गत समिति, उपसमिति, गठन सम्बन्धी कार्यविधि ०७४, विनियोजन ऐन, ०७४ र कार्य सम्पादन नियमावली, ०७४ रहेका छन् ।
राजपत्रको माथिल्लो भागमा नेपाल सरकारको निशाना छाप, त्यसको तल क्रमशः देवनागरी लिपि र रञ्जना लिपिमा काठमाडौँ महानगरपालिका लेखिएको छ भने त्यसपछि स्थानीय राजपत्र लेखिएको छ । प्रकाशित राजपत्रहरु नागरिकले महानगरको पुस्तकालयबाट खरिद गर्न सक्नेछन् ।
सो अवसरमा महानगरपालिकाका प्रमुख शाक्यले नगरसभाबाट पारित नीति, योजना, कार्यक्रम, बजेट, ऐन, नगर कार्यपालिकाबाट स्वीकृत नियमावली, कार्यविधि, निर्देशिका, मापदण्ड, निर्णय तथा प्रमुखबाट गरिएका संस्थागत तथा नीतिगत प्रबन्ध नागरिकको जानकारीका लागि स्थानीय राजपत्र प्रकाशन गरिएको जानकारी दिए । कानूनी शासनलाई संस्थागत गर्न महानगरको आधिकारिक प्रकाशनका रुपमा स्थानीय राजपत्र प्रकाशन गर्न थालिएको उनले बताए ।
रासस





























प्रतिक्रिया