काठमाडौँ
खानी तथा भूगर्भ विभागले १२६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको आठ महिनामा मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी सो खानीलाई उत्खननका लागि स्वीकृत प्रदान गरेको हो । मुलुकको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण क्षेत्रका रुपमा लिइएको खनिज पदार्थ मध्ये सबैभन्दा धेरै चुनढुङ्गा (४९ वटा) खानीलाई उत्खनन्का लागि अनुमति प्रदान गरेको छ ।
यस्तै अनुमति प्रदान गरिएकामा टुर्मालिन टल्क १४ वटा, कोइला १४ वटा , टुर्मालिन १२ वटा, क्वार्ज चार वटा , काइनाइट आठ वटा, मार्वल तीन वटा, रातोमाटो तीन वटा, फलाम दुई वटा, जिंक एउटा, क्वार्जजाइट १० वटा, म्याग्नेसाइट एक, डोलोमाइट एक र क्याल्साइट एक खानी रहेका छन् ।
खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले चुनढुङ्गा उत्खननका लागि धेरै आवेदन परेको र सोही अनुसार उत्खननका लागि अनुमति प्रदान गरिएको जानकारी दिए । “नयाँ संरचना निर्माणका लागि सिमेन्टको अत्याधिक माग भइरहेको अवस्थामा सिमेन्टमा चाहिने महत्वपूर्ण कच्चा पदार्थ चुनढुङ्गाको उत्खनन बढेको हो”, उनले भने । विभागले उत्खनन अनुमतिपत्र प्राप्त गरेका पाँच कम्पनीलाई उत्खनन कार्य समयमा शुरु नगरेको भन्दै रद्द गरेको छ । नेपालको महाभारत पर्वत क्षेत्रमा धेरै चुनढुङ्गा खानी रहेका छन् ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया