नौ जना पूर्वसभापतिहरु सम्मानित

नौ जना पूर्वसभापतिहरु सम्मानित

केन्द्रबिन्दु
0
Shares

नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसका अवसरमा नौजना पूर्वसभापतिलाई आज सम्मान गरेको छ ।

सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सभामुख कृष्णबहादुर महराले सम्मान गरेका हुन्  । सम्मानित हुनेहरुमा महासंघका पूर्वसभापतिहरु होमनाथ दाहाल, हरिहर विरही, किशोर नेपाल, डा सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, विष्णु निष्ठूरी, शिव गाउँले र डा महेन्द्र विष्ट छन् । 

मुलुकमा स्वतन्त्र प्रेसको रक्षा र लोकतन्त्रको पक्षमा महत्वपूर्ण योगदान पु¥याएबापत महासंघले उहाँहरुलाई सम्मान गरेको हो । सो अवसरमा सभामुख महराले निरङ्कुशविरुद्ध र लोकतन्त्रको पक्षमा पत्रकार महासंघले खेलेको भूमिका सबैका सामुन्ने जगजाहेर रहेको बताए । उहाँले भन्नुभयो, “पत्रकारिता जगत् समाजको ऐनाको भूमिका खेल्दै आएको छ, समाज रुपान्तरणमा सञ्चार क्षेत्रको ठूलो योगदान रहेको छ, मुलुकमा प्राप्त उपब्धिलाई ठिक ढंगले उपयोग गर्न र सही दिशातर्फ उन्मुख गराएर समृद्धिसँग जोड्ने कामको दायित्व पत्रकारिता क्षेत्रले लिनुपर्छ । 

सभामुख महराले नेपाली पत्रकारिता क्षेत्रको गौरवमय इतिहास, विश्वसनीयता र मर्यादालाई बचाइराख्न महासंघले ख्याल गर्नु पर्ने आवश्यकतामाथि जोड दिए । महासंघका सभापति गोविन्द आचार्यले पत्रकारिता क्षेत्रमा चुनौतीको पहाड नै रहे पनि अग्रजले गौरवपूर्ण ढंगबाट राखेको साझा चरित्र, गरिमा र वजलाई बचाइराख्ने प्रतिबद्धता जनाए । 

पूर्वसभापति हरिहर विरहीले नेपाली प्रेस जगत्ले निर्धक्क भएर काम गर्न सक्ने अवस्था अझै नरहेको उल्लेख गर्दै पत्रकारिता क्षेत्रको विश्वसनीयता र गुणस्तर विकासमा महासंघ अझै सक्रिय भएर लाग्न आवश्यक रहेको बताए । सूचना विभागका महानिर्देशक वीरबहादुर राईले पत्रकारिता क्षेत्रले राम्रा कामलाई प्रवद्र्धन र नराम्रा कामलाई निरुत्साहन गर्दै देश र जनताको हितमा काम गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । 

विसं २०१२ साल चैत १६ गते स्थापना भएको पत्रकार महासंघले घोषित आदर्शप्रति अविचलित रही ६३ औँ वसन्त पार गरिसकेको छ । महासंघका महासचिव रमेश विष्टले आधा शताब्दीभन्दा बढी समयदेखि समाजको अग्रणी साझा संस्थाका रुपमा सशक्त भूमिका निर्वाह गर्दै आएको महासंघले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको स्मरण गराए । रासस

Logo