काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई आज सम्बोधन हुँदैछ । मन्त्रिपरिषद्को यही चैत १२ गतेको बैठकले पहिलो सम्बोधनका लागि राष्ट्रपति भण्डारीलाई गरेको आग्रह अनुसार सो को तयारीमा नेपाल सरकार, संघीय संसद सचिवालय र राष्ट्रपतिको कार्यालय जुटेका छन् । अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट पहिलो सम्बोधन हुने कार्यक्रमका लागि सो स्थलमा सरसफाइ, सजावट र सुरक्षाको प्रबन्धका लागि संसद सचिवालयले सबै कार्य पूरा गरेको छ । निर्वाचनपछि संसद सचिवालयले प्रतिनिधिसभाको बैठक कक्षमा दुवै सदनको संयुक्त बैठक हुँदा अट्न सक्ने गरी कुर्सी व्यवस्थापन गरेको थियो । प्रतिनिधिसभामा २७५ र राष्ट्रिसभामा ५९ सदस्य छन् ।
नेपालको संविधानपछि पहिलो पटक गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचन र माघ २४ मा सम्पन्न राष्ट्रियसभाको निर्वाचनबाट गठित ती दुवै सदनको संयुक्त बैठकलाई नवनिर्वाचित राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लागेको यो पहिलो पटक हो । संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसदमा राष्ट्रपतिले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई सम्बोधन मार्फत प्रस्तुत गर्ने कार्यक्रम हुँदै आएकामा संविधानको नयाँ व्यवस्थानुसार निर्वाचनपछि दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुन लागेको हो । राष्ट्रपतिले सबै निर्वाचन सम्पन्न गरी नयाँ सरकार गठन भएर मुुलुक स्थिरता र विकासको बाटामा लम्कन खोजेकामा बधाई दिँदै आर्थिक समृद्धिका लागि सबैमा आह्वान गर्ने बुझिएको छ । आगामी आर्थिक वर्षको सरकारको नीति कार्यक्रमका लागि आगामी अधिवेशनमा राष्ट्रपतिबाट अलग्गै सम्बोधन हुनेछ ।
संसद सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार राष्ट्रपति भण्डारी सम्मेलन केन्द्र घोडाको बग्गीमा प्रवेश गर्दा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेर बहादुर तामाङ, उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्ष लगायतले स्वागत गर्नेछन् । बैठक कक्षमा राष्ट्रपतिले आसन ग्रहण गरेपछि प्रधानमन्त्रीले सम्बोधनको प्रति राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गर्नेछन् । सम्बोधनपछि बैठक समाप्त हुने भएकाले अन्य कार्यसूची हुने छैन ।
नेपालको संविधानको धारा ९५ को दफा (२) मा राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचन पछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ । सो धाराको दफा (१) मा राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने व्यवस्था छ ।
रासस





























प्रतिक्रिया