काठमाण्डौं । क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तले सन् २०२६ मे २९ लाई आधिकारिक रूपमा “नेपाली हेरिटेज डे” घोषणा गरेको छ ।
यो घोषणा नेपाली क्यानाडाली समुदायको सांस्कृतिक, सामाजिक तथा आर्थिक योगदानको उच्च मान्यता हो । नेपाल कल्चरल सोसाइटी अफ ब्रिटिश कोलम्बिया (एनसीएसवीसी) का अध्यक्ष राजु भट्टराईले यो उपलब्धि एनसीएसवीसीका बोर्ड अफ डाइरेक्टर्स, सहकर्मी संस्था तथा सम्पूर्ण नेपाली क्यानाडाली समुदायको सामूहिक प्रयासको परिणाम भएको बताए ।

नेपाली हेरिटेज डे हाम्रो संस्कृति, परम्परा र पहिचानको अन्तर्राष्ट्रिय मान्यता हो यसले नेपाल–क्यानडा सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिएका छौँ,” उनले भने ।
घोषणाका लागि प्रिमियर डेभिड एबी, एटर्नी जनरल तथा डेप्युटी प्रिमियर निकी शर्मा, जोब्स तथा आर्थिक विकासमन्त्री रवि काल्होन, माइनिङ तथा क्रिटिकल मिनरल्स मन्त्री जाग्रुप ब्रार, पोस्ट–सेकेन्डरी शिक्षा तथा भविष्य सीप मन्त्री जस्सी सुनर, सांसद आमना शाह अर्का सांसद गैरी बेग लगायत ब्रिटिश कोलम्बिया सरकारका उच्च पदस्थ अधिकारीहरूलाई विशेष धन्यवाद व्यक्त गरेका छन् ।
साथै उनले एक प्रेस सामाग्री जारी गरेर नेपाली समुदायको पक्षमा सहयोग पुगाउने सम्पूर्ण संसदका सदस्यहरु र सार्वजनिक कर्मचारीहरूको योगदानको पनि कदर गरिएको छ ।
एनसीएसवीसी वोर्ड, हिन्दु–बौद्ध फाउन्डेसन अफ क्यानाडा र विभिन्न समुदायका अगुवाहरूको साझा नेतृत्व, निरन्तर पहल र समर्पित स्वेच्छिक सेवाले यो उपलव्धी सम्भव भएको भट्टराईको भनाइ छ । उनले भने, यो सफलता सम्पूर्ण समुदाय र विशेषगरी विदेशमा नेपाली पहिचान जगेर्ना गर्दै आएका नेपाली युवाको हो ।”
‘नेपाली हेरिटेज डे’ घोषणा नेपाल–क्यानडा सम्बन्धका लागि नयाँ अवसर
ब्रिटिश कोलम्बिया प्रान्तले ‘नेपाली हेरिटेज डे’ लाई औपचारिक मान्यता दिनु नेपाली भाषा, संस्कृति र परम्पराको अन्तर्राष्ट्रिय सम्मानको ऐतिहासिक उपलब्धि हो। हाल बीसीका प्रिमियर डेभिड एबी र रोजगार मन्त्री रवि काल्होन भारत भ्रमणमा रहेका सन्दर्भमा आएको यो घोषणाले आगामी दिनमा नेपाल–क्यानाडाबीच सांस्कृतिक आदान–प्रदान, आपसी सहकार्य र कूटनीतिक सम्बन्ध विस्तार का नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ ।
यो दिवस २०२६ मे २९ मा पहिलोपटक ब्रिटीश कोलम्बियाको लेजिस्लेटिभ असेम्ब्लीको हल अफ अनर मा औपचारिक रूपमा मनाइनेछ । उक्त अवसरलाई ऐतिहासिक र स्मरणीय बनाउन एनसीएसभीसीले सम्पूर्ण नेपाली समुदायलाई सक्रिय सहभागिता, सुझाव र सहयोगका लागि आह्वान गरेको छ।
सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पाले सर एडमन्ड हिलारीसँग मिलेर सगरमाथाको पहिलो सफल आरोहण गरेको ऐतिहासिक उपलब्धिलाई स्मरण गर्दै मे २९ नेपाली समुदायका लागि विशेष महत्वको दिन भएको उल्लेख छ।
नेपाली हेरिटेज डे ले नेपाली संस्कृति, इतिहास र पहिचानबारे जानकारी फैलाउन तथा नेपाली समुदायको योगदानलाई सम्मान गर्ने अवसर प्रदान गर्ने विश्वास प्रकट गरिएको छ।
नेपाली हेरिटेज डे घोषणाले क्यानाडामा नेपाली समुदायलाई प्रान्तीय सरकारबाट आधिकारिक मान्यता दिलाएको छ। यसले नेपाली संस्कृति, भाषा र पहिचानलाई क्यानाडाको बहुसांस्कृतिक संरचनामा मजबुत रूपमा स्थापित गर्दै सरकारसँग संवाद, नीति निर्माण, कार्यक्रम र फन्डिङमा पहुँच सहज बनाउने विश्वास गरिएको छ। भविष्यमा सामुदायिक केन्द्र र सांस्कृतिक पूर्वाधार विकासतर्फ पनि यसले मार्ग प्रशस्त गर्ने अपेक्षा छ।































प्रतिक्रिया