काठमाडौँ ।

चैत्र कृष्ण द्वादशीका दिनदेखि शुरु भएको पशुपति क्षेत्रस्थित वत्सलेश्वरी देवी जात्राको समापन आज देवीलाई गुठी घरको माथिल्लो तलामा भित्र्याएर गरिएको छ । "/>

वत्सलेश्वरीलाई थन्क्याइयो गुठी घरमा

वत्सलेश्वरीलाई थन्क्याइयो गुठी घरमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

चैत्र कृष्ण द्वादशीका दिनदेखि शुरु भएको पशुपति क्षेत्रस्थित वत्सलेश्वरी देवी जात्राको समापन आज देवीलाई गुठी घरको माथिल्लो तलामा भित्र्याएर गरिएको छ । 

चैत्र कृष्ण द्वादशीका दिन फागुन ३० गते देशोद्वार पूजा गरी जात्रा शुरु भएको थियो । वत्सलेश्वरीलाई खटमा राखेर घुमाउने जात्रा मंगलबार नै समापन भए पनि आजसम्म देवीलाई गुठी घरको भुइँतलामा पूजा एवं दर्शनका लागि राखिएको थियो । 

देवीलाई आज गुठी घरको माथिल्लो तलामा लगेपछि पुजारीबाहेक अरुले दर्शन एवं पूजा गर्न नहुने मान्यता रहेको विशेत वैकुण्ठमान श्रेष्ठले बताउनुभयो । पशुपति क्षेत्रमा मनाइने यो तान्त्रिक जात्रा भएको उहाँले सुनाउनुभयो । 

यसैगरी चैत कृष्ण चतुर्दशीका दिनदेखि उपत्यकामा हुने पाहाँ च-हे जात्रा पशुपति क्षेत्रबाटै शुरु हुने गरेको छ । पशुपतिका भट्टसहितको समूहले बाजागाजासहित पश्चिम ढोकाबाट जयबागेश्वरी–पाँचगणेश–तामेश्वर–भण्डारेश्वर–ज्ञानेश्वर–नक्साल भगवती–कमलादी गणेश–अशन–सेतो मच्छेन्द्रनाथ–वसन्तपुर–लगन–पचलीभैरव–नरदेवी–क्षेत्रपाटीबाट त्यही बाटो आर्यघाट वत्सलेश्वरी आउने चलन छ । 

यसक्रममा यात्रा गरेका स्थानका मानिसलाई पनि जात्रा मनाउन अनुरोध गरेपछि उपत्यकाभर पाहाँ च-हे जात्रा शुरु हुने पशुपतिनाथ महोत्सव समितिका उपाध्यक्ष रत्न कपाली श्रेष्ठले बताउनुभयो । 

पशुपति क्षेत्रबाट शुरु भई उपत्यकाका अन्य स्थानमा फैलिएको सांस्कृतिक परम्परालाई निरन्तरता दिन पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाले ध्यान नदिएको उहाँको गुनासो छ । 

महोत्सवकै अवसरमा विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले फागुन ३० गतेदेखि नै श्रीमद्भागवत महायज्ञ गरेको थियो । भागवत्बाट संकलन भएको रकम गाई संरक्षण तथा सनातन हिन्दू जागरणका लागि उपयोग गरिने समिति संयोजक केदारमान भण्डारीले राससलाई जानकारी दिनुभयो । 

वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ क्षेत्रमा दुवै जात्राको अवसर पारेर स्वदेशी एवं विदेशी पर्यटक बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । 

महोत्सवका क्रममा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञका साथै उपत्यकाव्यापी अन्तर विद्यालयस्तरीय भक्ति संगीत र लोकनृत्य प्रतियोगिता, दुर्लभ धार्मिक पुस्तक प्रदर्शनी, पशुपति क्षेत्रका जात्रा मात्रा एवं मठ मन्दिरका तस्वीर प्रदर्शनीसमेत आयोजना गरियो । 

पशुपति क्षेत्रमा क्रियाशील विभिन्न धार्मिक, सामाजिक संघसंस्थाको सक्रियतामा स्थापित श्री पशुपतिनाथ ग्वल पुचः समाजलगायत संस्थाले गठन गरेको श्री पशुपतिनाथ महोत्सव मूल समारोह समितिले महोत्सव आयोजना गर्दै जात्रालाई निरन्तरता दिएको हो । 

फागुन ३० गते वत्सलेश्वरी जात्राको मुख्य दिनको अवसर पारेर महोत्सव शुरु गरिएको थियो । महोत्सव चैत ७ गते समापन भएको थियो । पूर्णप्रसाद मिश्र/रासस

Logo